काठमाडौं । काठमाडौं महानगरपालिकाले विगत २ महिनाको अवधिमा ३ हजार ४६९ सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ ।
सामुदायिक कुकुर नियन्त्रण गर्ने उद्देश्यले कामपाले गत असोज दोस्रो हप्तादेखि बन्ध्याकरण अभियान सुरु गरेको थियो । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिजविरुद्ध खोप अभियान सुरु गरेको हो ।
महानगरको कृषि विभाग प्रमुख डा. अवधेश झाका अनुसार यसै अवधिमा ५ हजार ३२० वटा कुकुरलाई रेबिज विरुद्धको खोप समेत दिइएको छ ।
काठमाडौं महानगरपालिकाले ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ नम्बर वडाबाट अभियान सुरु गरेको हो । अभियानअन्तर्गत आगामी पुस पहिलो हप्तासम्ममा ५ हजार ८०० कुकुरको स्थायी बन्ध्याकरण र १६ हजारलाई रेबिजविरुद्ध खोप दिने तयारी छ ।
विभिन्न ९ संघसंस्थाको सहकार्यमा गरिएको कार्य दैनिक २०० कुकुरको बन्ध्याकरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । यसका लागि दैनिक ५० जनाको विभिन्न समूह खटिएको छ ।
कुकुरको अनियन्त्रित प्रजनन् हुन नदिन गरिने स्थायी बन्ध्याकरण, कुकुर नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो । शल्यक्रियामार्फत गरिने बन्ध्याकरण स्थायी हुने, भाले र पोथी दुवै कुकुरका लागि उपयोगी हुने हुनाले यो सबैभन्दा धेरै प्रयोग हुने विधि रहेकाले कामपाले सोही विधि अपनाएको जनाइएको छ ।
हाल कामपामा २२ हजार सामुदायिक कुकुर रहेको अनुमान गरिएको छ । बिहान दिउँसो अथवा उज्यालोमा भन्दा बढी साँझ र बेलुकी सामुदायिक कुकुर बढी आक्रामक हुने गर्दछन् ।
रोगी अपाङ्गता भएका वा अन्य समस्या भएपछि घरपालुवा कुकुरलाई मालिकहरूले घर निकाला गर्ने सडकमा ल्याई छाड्ने चलन र सडकमा रहेका कुकुरको अनियन्त्रित प्रजननले गर्दा पछिल्लो समय सामुदायिक कुकुरको संख्या बढ्ने गरेको बताइएको छ ।
नेपालको मुलुकी अपराधसंहिता २०७४ बमोजिम कसैले पशुपक्षीलाई कुटी, हिर्काइ, बोक्न नसक्ने गरी भारी बोकाई वा हानिकारक वस्तु सेवन गराएमा वा अन्य प्रकारको यातना दिएमा पशुपक्षीप्रति निर्दयी व्यवहार गरेको मानी ३ महिनासम्म कैद वा ५ हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कामपाले केही समयभित्र चौपायालाई ओसारपसार गर्ने एम्बुलेन्स खरिद गर्ने पनि जानकारी दिएको छ ।