सुदूरपश्चिम । धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले विजयी सुरुआत गरेको छ ।
स्थानीय फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा एकेडेमीले कैलाली बहुमुखी क्याम्पसलाई ४३ रनले पराजित गरेको हो ।
निर्धारित १५ ओभरको खेलमा १२५ रनको विजयी लक्ष्य पछ्याएको कैलाली बहुमुखी क्याम्पसले ९ विकेटको क्षतिमा ८१ रन मात्र बनाउन सक्यो ।
एकेडेमीका बलर निरज ऐरले ४ विकेट लिँदै कैलाली बहुमुखी क्याम्पसको इनिङलाई धरासायी बनाए । ‘प्लेयर अफ द म्याच’ घोषित ऐरले ३ ओभरमा एक मेडन ओभरसहित ४ रन मात्र खर्चिए । अनिश अवस्थी र मान साउँदले २–२ विकेट लिए ।
कैलाली बहुमुखी क्याम्पसको ब्याटिङमा गणेश ऐरले सर्वाधिक १७, पंकज चौधरीले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १२४ रन बनायो । एकेडेमीका लागि कप्तान विजय रानाले सर्वाधिक ४१ रन योगदान दिए ।
उनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । हृतिक थापाले अविजित ३७ रन बनाए । उनले ३० बलमा ५ चौका र १ छक्का प्रहार गरे । निरज ऐरले १० बलमा १ चौका र २ छक्काको मद्दतले २१ रन बनाए ।
बहुमुखी क्याम्पसका बलर अभिषेक कुँवर, लोकेन्द्र खनाल र दीप कपडेलले २/२ विकेट लिए ।
सोमबारै भएको दोस्रो खेलमा धनगढी स्पोर्टस् क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ७२ रनले पराजित गर्यो । धनगढी स्पोर्टस्ले दिएको १६७ रनको लक्ष्य पछ्याएको कैलाली जिल्ला क्रिकेट क्लब १५ दशमलव २ ओभरमा ९४ रनमा समेटियो ।
जिल्ला क्रिकेट क्लबको ब्याटिङमा दीपक टमाटाले सर्वाधिक ३३ रन, विनोद नाथ र नरेन साउदले समान १३ रनको योगदान दिए । बलिङतर्फ भोजराज भट्ट र दीपक चन्द ठकुरीले ३/३ तथा नारायण जोशीले २ विकेट लिए । ‘प्लेयर अफ द म्याच’ घोषित नारायणले ३ दशमलव २ ओभरमा १२ रन खर्चिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको धनगढी स्पोर्टस् क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनायो । धनगढीका लागि ओपनर आयुष्मान बमले सर्वाधिक ४५ रन बनाए । उनले ३४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । नारायण जोशीले ३५, आयुब चन्दले ३२ र सुनिल धमलाले २५ रन बनाए ।
जिल्ला क्रिकेट संघको बलिङमा नरेन साउँदले ३ विकेट लिए । उनले ४ ओभरमा २८ रन खर्चिए । राहुल केसी र डबल ऐरले १/१ विकेट लिए । प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेल सुदूरपश्चिमाञ्चल एकेडेमी तथा घोडाघोडी क्रिकेट एकेडेमीबीच दोस्रो खेल शुक्लाफाँटा ब्ल्याक बक्स तथा खप्तड इन्डोरबीच हुने कार्यतालिका छ ।
लिटल फ्लावर स्पोर्टस् क्लब धनगढीको आयोजनामा भइरहेको प्रतियोगिताको उपाधि विजेताले २ लाख ५५ हजार र उपविजेताले १ लाख २८ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुर जिल्लाका गरी १६ क्रिकेट टोलीको सहभागिता छ ।