काठमाडौं । प्यालेस्टिनी क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि आह्वान गर्दै अन्तर्राष्ट्रिय रेडक्रस समितिका अध्यक्ष सोमबार युद्धग्रस्त गाजा पुगेका छन् ।
रेडक्रसको अन्तर्राष्ट्रिय समितिले अध्यक्ष मिर्जाना स्पोल्जारिकको गाजा क्षेत्रको भ्रमण विभिन्न चरणमा हुने र आगामी हप्ताहरूमा इजरायलको भ्रमण हुने अपेक्षा गरिएको जनाएको छ ।
‘म गाजा आइपुगेको छु, यहाँ मानिसहरूको पीडा असह्य छ,’ स्पोल्जारिकले ट्वीटरमा लेखेका छन् ।
‘गाजामा सर्वसाधारणको लागि कुनै सुरक्षित स्थान नहुनु अस्वीकार्य छ र सैन्य घेराबन्दीका कारण पर्याप्त मानवीय सहायता पनि सम्भव छैन,’ आईसीआरसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
हमासद्वारा बन्धक बनाइएका इजरायली बन्धक र इजरायलले कब्जामा लिएका प्यालेस्टिनी कैदीहरूलाई पर्याप्त सहयोग नगरेको भन्दै द्वन्द्वमा दुवै पक्षबाट आलोचना खेप्दै आएका स्पोल्जारिकले स्वतन्त्रताबाट वञ्चित सबैलाई मानवीय व्यवहार गरिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘बन्धक बनाइएकाहरूलाई रिहा गरिनुपर्छ र आईसीआरसीलाई सुरक्षित रूपमा उनीहरूसँग भेट्न दिनुपर्छ ।’
कतार, संयुक्त राज्य अमेरिका र इजिप्टको मध्यस्थतामा इजरायल र हमासले सयौं बन्धक र कैदीहरू आदानप्रदान गरेको १ हप्ता लामो युद्धविराम भंग भई शुक्रबारदेखि पूर्ण रूपमा युद्ध सुरु भएपछि उनी गाजा पुगेका हुन् ।
अक्टोबर ७ मा इस्लामिक लडाकू समूहले गरेको आक्रमणको बदलामा इजरायलले हमासलाई परास्त गर्ने प्रतिबद्धता जनाएको छ । अक्टोबर ७ को हमास आक्रमणमा १ हजार २०० व्यक्तिको मृत्यु भएको थियो भने मृत्यु हुनेमा अधिकांश सर्वसाधारण थिए । आक्रमणपछि हमासले २४० जनालाई बन्धक बनाएको इजरायली अधिकारीहरूले बताएका छन् ।
इजरायली सेनाले युद्ध सुरु भएयता करीब १० हजार हवाई आक्रमण गरेको आइतबार जनाएको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा १५ हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ, जसमध्ये करीब ७० प्रतिशत महिला र बालबालिका रहेका छन् ।
‘म नागरिकहरूको दुर्दशाप्रति मेरो गहिरो चिन्ता व्यक्त गर्नेछु र आईसीआरसीको उनीहरूको पीडा कम गर्न हामीले गर्न सक्ने सबै प्रयास गर्ने पूर्ण प्रतिबद्धतालाई जोड दिनेछु,’ आईसीआरसी अध्यक्ष स्पोल्जारिकले भने ।
आईसीआरसीका अनुसार गाजा भ्रमणका क्रममा स्पोल्जारिकले स्थानी रेडक्रस टोलीसँग पनि समय बिताउने र युरोपेली अस्पतालको भ्रमण गर्ने बताइएको छ । गाजामा आईसीआरसीका मेडिकल टोलीले स्थानीय स्वास्थ्यकर्मीसँग मिलेर जीवन रक्षाका लागि अभियान (उपचार सेवा) चलाइरहेका छन् ।
‘हामीले अन्तर्राष्ट्रिय मानवीय कानूनअनुसार सबै पक्षबाट नागरिक जीवनको रक्षा र सम्मान गर्न तत्काल अपिल गरेका छौं र म आज पनि त्यही अपील दोहोर्याउँछु,’ स्पोल्जारिकले भने, ‘सहायताको निर्बाध र नियमित प्रवाहलाई अनुमति दिनुपर्दछ ।’