काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजदेखि सुनुवाइ सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो । यसअघि अन्तरिम आदेश दिन अस्वीकार गरेको एकल इजलासले मुद्दालाई प्राथमिकतामा राखी सुनुवाइका लागि आजको मिति तोकेको थियो ।
न्यायाधीश विनोद शर्माको इजलासले मंसिर ५ गते कारण देखाऊ आदेश जारी गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो। गत कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाट सरकारले समाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सो निर्णयको विरोध गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्द, युवराज पौडेल सफल लगायतले रिट दायर गरेका थिए ।
सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै टिकटक बन्द गर्ने निर्णय गरेको थियो।