काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषणा गरेका छन् ।
प्रधानमन्त्री सुनकका ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको कट्टरपन्थी कार्यको रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा पुर्याउने सुनिश्चित रहेको निष्कर्ष निकालिएको छ ।
नयाँ उपायहरूको शृंखलाको रूपमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले जबसम्म स्नातकोत्तर अनुसन्धान पूरा गर्दैनन्, तबसम्म उनीहरूको परिवारलाई बेलायतमा ल्याउनबाट रोक लगाइने छ । यो कदमबाट दक्ष विदेशी कामदारहरूले देशमा काम गर्न भिसा थप्न चाहे न्यूनतम पारिश्रमिक बढाउनुपर्ने बाध्यता सिर्जना हुनेछ ।
प्रधानमन्त्री सुनकले भने, ‘अध्यागमन धेरै उच्च छ । आज हामी यसलाई घटाउन कट्टरपन्थी बनेर कारबाही गरिरहेका छौं । यी कदमहरूले बेलायतलाई फाइदा पुर्याउने कुराको सुनिश्चित गर्नेछ ।’
नयाँ प्रावधानअन्तर्गत स्नातकोत्तर अनुसन्धान डिग्रीमा नपुगेसम्म विदेशी विद्यार्थीहरूलाई आफ्नो परिवारलाई बेलायतमा ल्याउन प्रतिबन्ध लगाउनेछ ।
बेलायतमा कूल माइग्रेसन गत वर्ष उच्च स्तरमा पुगेको आधिकारिक तथ्यांकले देखाएको छ । यसले बेलायत सरकारलाई दबाब थपेपछि यस मुद्दालाई राजनीतिक विषय बनाइएको सीएनएनले उल्लेख गरेको छ ।
बेलायतमा सन् २०२२ मा ६ लाख ६ हजार मानिसको बसाइसराइ भएको राष्ट्रिय तथ्यांकको कार्यालय (ओएनएस) ले जनाएको छ । १२ लाख मानिस बेलायत प्रवेश गरेका छन् भने झण्डै आधा संख्याले देश छाडेर गएका छन् ।
सीएनएनका अनुसार कन्जरभेटिभ सरकारहरूले बेलायतमा सर्ने मानिसहरूको संख्यामा ठूलो मात्रामा कमी ल्याउने वाचा गरे तापनि सहज रूपमा त्यसो हुन सकेको छैन । विशेषगरी ब्रेक्सिटको परिप्रेक्ष्यमा हेर्दा यसका समर्थकहरूले सिमानाहरू नियन्त्रण गर्न बेलायतलाई आवश्यक कदमको रूपमा पछिल्लो कदमलाई लिएका छन् ।
बेलायत आइपुगेका अधिकांश मानिसहरू ९ लाख २५ हजार गैरईयू नागरिकहरू रहेका र तीमध्ये १२ जनामा १ जनामध्ये एक शरण खोज्नेहरू रहेको तथ्यांकले देखाएको छ । गैरईयू देशहरूबाट बेलायत बसाइ सर्नेहरूमा कामको खोजी, अध्ययन र मानवीय उद्देश्य प्रमुख रहेरको ओएनएसमा अन्तर्राष्ट्रिय आप्रवासन केन्द्रका निर्देशक जे लिन्डोपले उल्लेख गरे ।
गत वर्ष बेलायतको अध्यागमन तथ्यांकका अनुसार सबैभन्दा धेरै भारतीय नागरिकहरू बेलायतमा अध्ययन, कामको खोजी र पर्यटन भिसा बोकेर प्रवेश गरेका थिए । जुन २०२२ को अन्त्यमा २ लाख ५८ हजारभन्दा बढी भारतीय नागरिकहरूले भ्रमण भिसा प्राप्त गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ६३० प्रतिशतले बढी हो ।