काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावितको राहत र उद्धारमा सरकार निकम्मा साबित भएको बताएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलबार रुकुम पश्चिम र जाजरकोटको सिमाना रिम्ना पुगेका ओलीले भूकम्प प्रभावित क्षेत्रमा खटिएका एमालेका स्वयंसेवकलाई सम्बोधन गर्दै राष्ट्रपति, प्रधानमन्त्रीदेखि गृहमन्त्री र अन्य मन्त्री हेलिकप्टर चढ्न व्यस्त भएकाले पीडितको उद्धार, राहत र पुनःस्थापनाको काम हुन नसकेको बताए ।
‘हेलिकप्टर उडाउन कम्पटिसन हुन्छ, हेलिकप्टर बसाउने ठाउँ पाउँदैन, अस्पतालमा नेताहरूको लर्को लागेर बिरामीको उपचार हुन पाउँदैन, यता नेताहरूको चाकडीमा ब्रिफिङ गर्न डाक्टरहरू जानुपर्छ, प्रमुख जिल्ला अधिकारी, प्रहरीहरू नेताको सुरक्षामा खटिँदा ठिक्क हुन्छ, त्यसमा जान भ्याउँदैनन्, सक्दैनन्,’ उनले भने ।
पीडितका लागि आएको सहयोग थन्किएर बस्दा पनि सरकारले पीडितसम्म पुर्याउन नसकेको उनले बताए । बैंकमा आएर रकम बस्दा पनि पीडितको हितमा सरकारले खर्चिन नसकेको उनले बताए । ‘बैंकमा राख्नका लागि रकम दिएको हो ?’ ओलीले प्रश्न गरे ।
एमालेका स्वयंसेवकले अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा पनि सरकारले के हेरेर बसेको भन्दै उनले प्रश्न गरे । एमालेका स्वयंसेवकले विना पैसा ८१३ अस्थायी घर बनाएर दिँदा पनि सरकार हेरेर बसिरहेको उनले बताए ।
सही चिन्तन नभएसम्म केही काम गर्न नसकिने ओलीले बताए । ‘एमालेमा जुन कार्यक्षमता छ, त्यो अरुसँग छैन, अरूले त्यो कार्यक्षमता प्रदर्शन गर्न सक्दैनन्, नेकपा एमालेसँग जुन जनभावना छ, त्यो जनभावना अरुसँग छैन,’ उनले भने ।
मानवीय सेवाको भावले सेवा गरेको भन्दै एमालेका स्वयंसेवकलाई ओलीले धन्यवाद दिए । यस्तो सेवाभाव अहिले दुर्लभ भएको उनले बताए ।
अध्यक्ष ओलीले कतै समस्या पर्यो भने नेकपा एमाले पुग्ने बताए । एमाले सान, सौकत र औपचारिकता देखाउन पुग्ने नभई अर्थपूर्ण ढंगले पुग्ने र जनताको सेवा गर्न प्रभावित क्षेत्रमा पुग्ने उनले प्रष्ट पारेका छन् ।