रुकुम पश्चिम । विक्रम संवत् २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा भएको घटनाको अन्तिम फैसला भएको छ ।
जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको घटनाको मुद्दाको अन्तिम फैसला आएको हो । आइतबारदेखि सुरु भएको सुनुवाइको अन्तिम फैसला ३ दिन लगाएर मंगलबार साँझ आएको छ ।
जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले घटनाको कसूरमा कारागारमा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।
कोइरालाका अनुसार नवराजकी प्रेमिकासहित उनको परिवारका ३ जनालाई जातीय विभेदको मुद्दामा २ वर्ष कैद र ५० हजार जरिवाना तोकिएको छ । साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनाले सफाइ पाएको सूचना अधिकारी कोइरालाले जानकारी दिए ।
पीडितलाई प्रतिवादीको तर्फबाट ४० हजारका दरले क्षतिपूर्ति भराउने फैसला भएको छ ।
घटनाको जाहेरीपछि ३४ जना पक्राउ परेका थिए । उनीहरूमध्ये थुनछेक बहसका क्रममा २ जना बालकसहित ११ जना तारेखमा छुटेका थिए ।
भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरूसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमिकाको परिवारसँग आफ्नो विवाहको कुरा गर्न त्यहाँ पुगेका थिए । दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लेखेटेर हत्या गरेका थिए । घटनामा १२ जना घाइते भएका थिए । घटनामा ज्यान गुमाएकाको शव भेरी नदीमा भेटिएको थियो ।
विक्रम संवत् २०७७ जेठ १० गते जाजरकोटका नवराजसहित उनका ५ जना साथी जाजरकोटका गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा हत्या भएको थियो ।