ओखलढुंगा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई संस्थागत गर्दै देशको विकासमा जुट्नुपर्ने बताएका छन् ।
ओखलढुंगामा कांग्रेसको नवनिर्मित पार्टी कार्यालय बीपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले संघीयतामार्फत नै देशको समृद्धि सम्भव रहेको बताए ।
मुलुकमा संघीयता कार्यान्वयन भएपछि दूरदराजमा विकास पुगेको बताउँदै उनले गणतन्त्र र संघीयताको अर्को विकल्प नभएकामा जोड दिए । ‘देश संघीयताको कार्यान्वयन र लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ । अहिले नै यसको विकल्प खोज्नु उपयुक्त हुँदैन,’ उनले भने, ‘यही व्यवस्थाले नागरिकको अवस्था परिवर्तन हुन्छ । व्यवस्था परिवर्तनको सपना कसैले नदेखे हुन्छ ।’
उनले आदिवासी, जनजाति, मधेशी, महिला, दलित लगायत सबैलाई अपनत्व दिलाउँदै संघीयताको संस्थागत विकासमा लाग्न आवश्यक रहेको बताए ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवालाई स्वरोजगार बनाउनु अहिलेको आवश्यकता रहेको बताए । देशमा बढ्दो बेरोजगारी समस्या समाधान गर्नुपर्ने भन्दै नेता कोइरालाले कृषि क्षेत्रको विकास गरेर रोजगारीे सिर्जना गर्न सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए ।
नेता कोइरालाले एनसेलमा भ्रष्टाचारको चर्चा चलिरहेको सन्दर्भमा नेपाली कांग्रेसले सदनमा आवाज उठाउने बताए ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दल अहिल्यै आगामी निर्वाचनको तयारीमा लाग्नु गलत भएको बताए । संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा र भ्रष्टाचार अन्त्यका लागि कांग्रेस लाग्ने उनले बताए । छिट्टै संघमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने उनले बताए ।