काठमाडौं । नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ ।
प्रहरीको टोलीले काठमाडौंका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले रुसी सेनामा जानलाई युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरे ।
पछिल्लो समय रुस–युक्रेन युद्धपछि रुसले विदेशी नागरिकका लागि भर्ती खोल्दा धमाधम नेपाली युवा अवैध बाटो हुँदै गइरहेका छन् । यसरी अवैध रूपमा रुसी सेनामा गएका ६ जना नेपाली युवाले ज्यानसमेत गुमाएका छन् ।
पक्राउ परेकाहरूसँग प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।