काठमाडौं । लुम्बिनी प्रदेश भौगोलिक रुपमा तराई, पहाड, हिमाल रहेको यो प्रदेश सांस्कृतिक रुपले पनि निकै विविधतायुक्त छ ।
थारु, मगर, मधेशी, मुस्लिम र खस आर्य समुदायको सांस्कृतिक सम्मिश्रण र अन्तरघुलनबाट यो प्रदेश सप्तरङ्गी इन्द्रेणी जस्तै बन्न पुगेको छ । लुम्बिनीका मौलिक विशेषता छन् । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट तथा थुप्रै बुद्धकालीन ऐतिहासिक र सांस्कृतिक महत्त्वका सम्पदाहरू यसै प्रदेशमा पर्छन् । एसियाकै ठूलो दाङ उपत्यका लुम्बिनी प्रदेशमा पर्छ ।
विक्रम संवत् २०७७ असोज २० गते प्रदेश सभाको निर्णयबाट लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङ र नामकरण लुम्बिनी प्रदेश कायम भएको छ । त्यहीँ लुम्बिनी प्रदेशको प्रमुख सचिवमा कार्यरत छिन् राधिका अर्याल । असल काम गर्दा कसैको छायाँले छेल्दैन भन्ने उदाहरण हुन् प्रमुख सचिव अर्याल । उनी लामो समयदेखि निजामती सेवामार्फत जनताको सेवा गर्दै आएकी छन् ।
काठमाडौंको तारकेश्वर नगरपालिकामा उनी जन्मिँदा जिल्ला राजधानी भए पनि तारकेश्वर ग्रामीण क्षेत्र थियो । निम्न मध्यम परिवारमा उनको बाल्यकाल बित्यो । उनका बुवाआमा खेती–किसानी गर्थे । उनको परिवारमा ५ जना छोरी र १ जना छोरा थिए ।
विद्यार्थी जीवन र काम
उनको १ देखि ७ कक्षासम्मको अध्ययन घर नजिकैको पृथ्वीनारायण माध्यमिक विद्यालयमा भयो । त्यसपछि उनी लैनचौरको कन्या माध्यमिक विद्यालयमा भर्ना भइन् । उनले कन्या माध्यमिक विद्यालयबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरिन् । उनले त्यसबेला पनि एसएलसीमा पहिलो श्रेणी ल्याएकी थिइन् । त्यो समय एसएलसीमा पहिलो श्रेणी ल्याउन धेरै कठिन रहेको उनी स्मरण गर्छिन् ।
उनले त्रिचन्द्र क्याम्पसबाट आईएस्सी र बीएस्सी उत्तीर्ण गरिन् । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति विभागबाट एमएस्सी उत्तीर्ण गरे पनि उनको पढाइ रोकिएन । त्यसबाहेक पनि उनले जनप्रशासनमा स्नातकोत्तर गरिन् । उनले जापानको टोकियो विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरिसकेकी छन् । २०५२ सालमा आईएस्सी सकेपछि उनले आफूले पढेको विद्यालयमा गणित र विज्ञान विषय पढाउन थालिन् । उनले करीब ९ वर्ष विद्यालयमा अध्यापन गराइन् ।
निजामती सेवामा प्रवेश
पढ्दै गर्दा निजामती कर्मचारी बन्छु भन्ने सोच नआएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘जागिर भनेको जे पनि गर्न सकिन्छ ।’ स्कूल पढाउँदै गर्दा उनीसँग कलेज पढाउने विकल्प पनि थियो तर निजामती सेवामा प्रवेश गर्नुभन्दा अगाडि लोक सेवाको पाठ्यक्रम पनि परिमार्जन भयो । नयाँ पाठ्यक्रममा लोक सेवाको कोटा पनि खुल्यो । त्यसपछि साथीहरूसँग पनि तयारी गर्ने कि नगर्ने भनेर सल्लाह गरेको उनी बताउँछिन् । त्यसपछि उनले लोक सेवाको परीक्षा दिइन् तर पहिलो प्रयासमा उनी सफल हुन सकिनन् ।
उनी भन्छिन्, ‘त्यसबखत मेरो एमएस्सीको जाँच पनि नजिक आएकाले राम्रो तयारी गर्न पाइएन ।’ दोस्रो पटकमा पनि थोरै कोटा भएकाले उनी सफल भइनन् । उनका दाइ पनि निजामती क्षेत्रमा भएकाले आफूलाई धेरै प्रेरणा मिलेको र दाइले पनि आफूलाई हौसला प्रदान गरेको उनी बताउँछिन् । तेस्रो पटकमा सफल भएर उनी २०६१ सालमा निजामती सेवामा शाखा अधिकृतको रूपमा प्रवेश गरिन् ।
उनको पहिलो दरबन्दी तत्कालीन श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा भएको थियो । उनले मन्त्रालयमा ६ वर्ष काम गर्दा उच्च शिक्षाका लागि जापान जाने अवसर पनि पाएकी थिइन् । करीब २ वर्ष ६ महिना जापान बसेकी उनी २०६९ सालमा जापानबाट फर्किएपछि सहसचिवमा नाम निकाल्न सफल भइन् ।
त्यसबेला निजामती सेवामा ७ वर्ष काम गरेपछि माथिल्लो पदमा परीक्षा दिन मिल्थ्यो । सहसचिवको पदमा उनको पहिलो पोस्टिङ तत्कालीन विज्ञान प्रविधि मन्त्रालयको वातावरण विभागमा भएको थियो । उनले मन्त्रालयमा १ वर्ष काम गरेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको थियो । उनले महिला मन्त्रालयमा ५ वर्ष काम गरिन् । त्यसपछि उनको सरुवा सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा भयो । सञ्चार मन्त्रालयमा २ वर्ष काम गरेपछि उनको सरुवा बागमती प्रदेशमा भयो । १ वर्ष बागमती प्रदेशमा काम गरेपछि उनको सरुवा उद्योग बाणिज्य तथा आपूति मन्त्रालयमा भयो ।
उनले सहसचिव भएर करीब ११ वर्ष काम गरेपछि २०८० कात्तिकमा उनी सचिवमा बढुवा भइन् । हाल उनी लुम्बिनी प्रदेशको प्रमुख सचिव भएर जनतालाई सेवा दिँदै आएकी छन् ।
कर्मचारीतन्त्रप्रतिको बुझाइ
कर्मचारीतन्त्र एउटा स्थायी सरकार हो । विश्वव्यापी रूपमा नै कर्मचारीतन्त्रले काम गरेको छ । यसको काम गर्ने प्रक्रिया आफ्नै हुन्छ । समय पालना, नियमितता, अनुशासनमा रहेर काम गर्न सिकाउने काम पनि कर्मचारीतन्त्रले गर्छ । राज्यका विभिन्न अंगले बनाएका नीतिनियमको कार्यान्वयन गर्ने संयन्त्र पनि हो कर्मचारीतन्त्र । अहिले यसमा केही समस्या पनि देखिएका छन् तर कर्मचारीतन्त्रको विकल्प अरु केही हुन सक्दैन । कर्मचारीतन्त्रको विकल्प कर्मचारीतन्त्र नै हो । यसमा देखिएका कमी–कमजोरी सुधारेर लैजानुपर्छ ।
जनताका आवश्यकता पूरा गर्दै कमजोरी मेट्दै जाँदा देशमा विकासको खाका पनि कोर्न सकिन्छ । अहिले जनताको वितृष्णा बढेर सम्मान घट्दो छ तर जतिबेला देशमा संकट आउँछ, त्यसबेला काम गर्ने भनेको निजामती सेवाले नै हो ।
सरकारको सेवासुविधा
विकसित देशको तुलनामा नेपालमा तलबसुविधा कम नै छ । शिक्षा, स्वास्थ्य, दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दो क्रममा छ । मूल्यवृद्धिले चरम सीमा नाघेकाले तलब पर्याप्त छैन तर यसो भन्दैमा विकृति बढाउने छुट कसैलाई पनि छैन ।
जागिरे जीवन र परिवार दुवैको सन्तुलन जरुरी
जागिरे जीवन र परिवार सन्तुलनमा राख्न परिवारको पनि उत्तिकै भूमिका र महत्त्व रहने उनले बताइन् । १०–५ बजेको दिनचर्याबाहेक कहिलेकाहीँ बाहिर गएर पनि काम गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा परिवारले बुझेनन् भने काममा नकारात्मक असर पर्ने उनको भनाइ छ ।
उनले भनिन्, ‘कार्यालयको कामले गर्दा परिवारलाई सोचे जति समय दिन भने सकिँदैन ।’
निजामती क्षेत्रमा समय तालिका बनाएर काम गर्नुपर्ने हुँदा आफूले चाहेको बेलामा समय निकाल्न नमिल्ने उनको अनुभवले बताउँछ । ‘परिवारको साथ र सहयोग विना यसलाई सन्तुलनमा राख्न अवश्य नै सकिँदैन । घरका कतिपय कामहरू महिलाले नै गर्नुपर्छ भन्ने मानसिकता रहेको हुनसक्छ,’ उनी भन्छिन्, ‘यसमा आफ्नो श्रीमान् कतिको सहयोगी छन् भन्ने कुरामा भर पर्छ । समय मिलाउन कर्मचारीका लागि एउटा चुनौतीको विषय हो ।’ काममा उत्कृष्टता देखाउन परिवारको उत्तिकै भूमिका रहेको उनको बुझाइ छ ।
निजामतीमा आउन चाहनेलाई सुझाव
अहिलेको समय भनेको प्रविधिको युग हो । निजामती सेवामा पनि नयाँ पुस्ताको आगमन हुन जरुरी छ । पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको सीपले यसलाई थप उचाइमा पु¥याउन सकिन्छ ।
नागरिकको सेवा प्रवाहको गुणस्तर, सामाजिक आर्थिक तथा भौतिक पूर्वाधार विकासको गति, परिवर्तन र सुधारप्रतिको रूपमा लिई निजामती सेवा सञ्चालन हुनुपर्छ,’ उनी भन्छिन्, ‘निजामती सेवामा के कस्ता मूल्य–मान्यता हुन्छन्, त्यसको धरातलमा टेकेर म आफ्नो जीवन जनताको सेवामा व्यतीत गर्न सक्छु भन्ने मनोबल भएर अनुशासित हुने हो भने निजामती क्षेत्रमा रम्न सकिन्छ । यहाँभित्र अलिकति पैसा कम होला तर धेरै अवसर पनि रहेका छन् ।’