काठमाडौं । चीनले राजधानीमा एउटा उच्चस्तरीय शिखर सम्मेलनको पूर्व सन्ध्यामा बेइजिङप्रति युरोपेली युनियनको निर्यात नीतिहरूको कुनै अर्थ नभएको बताएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने, ‘यदि युरोपेली युनियनले एकातिर चीनमा उच्च प्रविधियुक्त उत्पादनहरूको निर्यातमा गम्भीर प्रतिबन्ध लगाउँछ र अर्कातिर चीनतर्फको निर्यातमा उल्लेखनीय वृद्धिको अपेक्षा गर्छ भने यसको कुनै अर्थ छैन ।’
युरोपेली युनियन–चीन शिखर सम्मेलनका लागि युनियनका प्रमुख उर्सुला भोन डेर लेयन, युनियनका शीर्ष कूटनीतिज्ञ जोसेप बोरेल र युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेल बिहीबार बेइजिङमा हुनेछन् ।
सन् २०१९ पछि ब्रसेल्स प्रमुखहरू र चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा प्रधानमन्त्री ली छ्याङबीच पहिलो व्यक्तिगत शिखर सम्मेलन हुनेछ र मुख्य कुराकानीको विषयमध्ये एक व्यापार हुनेछ ।
‘युरोपेली नेता समयसँगै व्यापार सम्बन्धमा असन्तुलन सहन सक्तैनन्,’ भोन डेर लेयनले वार्ताअघि एक अन्तर्वार्तामा एएफपीलाई भने, ‘तर हामी वार्ताबाट समाधान निकाल्न रुचाउँछौं ।’
‘चीन युरोपेली युनियनको विश्वासयोग्य र अपरिहार्य साझेदार हो, वार्ता र परामर्शको माध्यमबाट मतभेदहरूलाई सही ढंगले सम्हाल्नु महत्त्वपूर्ण कुरा हो,’ प्रवक्ता वाङले बुधबार एक नियमित पत्रकार सम्मेलनमा भने, ‘युरोपेली पक्षले चीनसँग मिलेर काम गर्नेछ, चीन–युरोपेली युनियनका नेताहरूको बैठकको सफल आयोजनाका लागि सकारात्मक वातावरण बनाउने छ र चीन–युरोपेली युनियनले सम्बन्धलाई स्वस्थ र दीगो विकासका लागि संयुक्त प्रयास गर्नेछन् भन्ने हामीलाई विश्वास छ ।’