काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसंघको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
घानाको आक्रामा भएको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रिस्तरीय सम्मेलनमा उपप्रधानमन्त्री खड्काले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी पूरा गर्ने क्रममा रहेको समेत बताए ।
उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शिखर सम्मेलन आयोजना गरेकामा समेत धन्यवाद दिए । उनले संयुक्त राष्ट्रसंघका महासचिवको पहलमा सुरु गरिएका एक्सन फर पिस र एक्सन फर पिस प्लस कार्यक्रमलाई नेपालले सदैव समर्थन गर्दै आएको समेत बताए । यसले शान्ति सैनिकको सुरक्षा र सुरक्षाको आवश्यकता र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धता सुनिश्चित गर्ने उनको भनाइ छ ।
‘हामीले हाम्रा सैनिकलाई जस्तोसुकै चुनौतीपूर्ण अवस्थामा पनि तैनाथीका लागि तयार राखेका हुन्छौं । हामी सुनिश्चित गर्छौं कि हाम्रा शान्ति सैनिकले आचरण र अनुशासनको उच्चतम मापदण्ड पूरा गर्छन् र हामी यौन शोषण र दुव्र्यवहारविरुद्ध शून्य सहिष्णुता नीतिलाई दृढतापूर्वक पालन गर्छौं,’ उपप्रधानमन्त्री खड्काले भने ।
नेपाल शान्ति स्थापनाको प्रभावकारिता सुनिश्चित गर्न टी/पिसिसी लगायत सम्बन्धित प्रमुख सरोकारवालाबीच सुधारिएको समन्वय संयन्त्र धेरै महत्त्वपूर्ण छ भन्नेमा नेपाल विश्वास गर्ने उनले बताए । उनले शान्ति स्थापना साझेदारीपूर्ण कार्य भएको र घोषित लक्ष्य पूरा गर्न सबै एकजुट हुनुपर्ने धारणा राखेका छन् ।
उपप्रधानमन्त्री खड्काले नेपाल यस वर्ष विशेष सुरक्षा बल र तत्काल प्रतिकार्य बललाई कायम राख्दै एउटा मेकानाइज्ड इन्फन्ट्री बटालियन र २ वटा इफपियु र आरडीएलमा स्तरोन्नति गर्न प्रतिबद्धता समेत जनाए । उनले नेपाल इओडी इहाइ, एकल इकाइ, रेकी इकाइ, क्यूआरएफ कम्पनी र एमपी कम्पनीलाई समेत स्तरोन्नति गर्न प्रतिबद्धता जनाए ।