सुदूरपश्चिम । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज बुधबारको खेलमा आयोजक लिटल फ्लावर स्कूल धनगढी ४१ रनले पराजित भएको छ ।
घोडाघोडी क्रिकेट एकेडेमीले दिएको १२८ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावर १६ दशमलव ५ ओभरमा ८६ रन बनाएर समेटियो । उसका लागि मनीष थापाले १७, कृष्ण कार्कीले १५, प्रतीक श्रेष्ठ र कौशल रुपाखेतीले ११/११ रन बनाए ।
घोडाघोडीका स्पिनर अशोक धामीले ५ विकेट लिएपछि लिटल फ्लावरको टीम धरासायी बन्यो । ‘प्लेयर अफ द म्याच’ घोषित धामीले ४ ओभरमा १८ रन खर्चिएका थिए । नरेश सुनारले २ र नभयुग बस्नेतले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १९ दशमलव ५ ओभर खेल्दै सबै विकेट गुमाएर १२७ रन बनायो । उसका लागि नरेश सुनारले ३४, विपिनविक्रम शाहीले २४, कृष कार्कीले २२ रन बनाए । लिटल फ्लावरका लागि दिनेश अधिकारीले सर्वाधिक ४ विकेट लिए । उनले ३ दशमलव ५ ओभरमा १७ रन खर्चिए । कप्तान कृष्ण कार्कीले ३, कौशल रुपाखेतीले २ र विपिन खत्रीले १ विकेट लिए ।
आज बुधबारै भएको अर्को खेलमा कैलाली जिल्ला क्रिकेट क्लबले खप्तड इन्डोर स्पोर्टस् ट्रेनिङ सेन्टरलाई ३४ रनले पराजित गर्यो । कैलालीले दिएको १४० रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको खप्तडले १७ दशमलव ४ ओभरमा १०५ रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो ।
खप्तडका लागि प्रकाश पाण्डेयले २६, अभिषेक थापाले २० र अरुण रानाले १२ रनको योगदान गरे । कैलालीका बलर नरेन साउदले ३ ओभरमा १५ रन खर्चिएर ४ विकेट लिन सफल भए । दीपक टमटाले २, शेर मल्ल, दीपक रोकाया र राहुल केसीले १/१ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको कैलाली जिल्ला क्रिकेट क्लबले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १३९ रन बनायो । उसका लागि ओपनर डबल ऐरले अर्धशतकीय योगदान दिने क्रममा अविजित ५४ रन बनाए । ‘प्लेयर अफ द म्याच’ घोषित उनले ५२ बलमा ४ चौका र २ छक्का प्रहार गरे । सुदांशु रावलले १९, हृदय बिडारी, दीपक टमटा र नरेन साउदले १०/१० रनको योगदान गरेका छन् ।
खप्तडको बलिङमा अरुण रानाले ३, रवि विष्ट तथा नगेन्द्र उपाध्यायले २–२ विकेट लिए । बिहीबारको पहिलो खेल युथ अफ टीकापुर र शारदा सेकेन्डरी स्कूलबीच तथा दोस्रो खेल सत्यवती एकेडेमी र जेएस स्पोर्टस्–११ सुपर स्टार्सबीच हुने कार्यतालिका छ ।