काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाइँलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताएका छन् ।
माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आज बिहीबार उनले भ्रष्टाचार विरोधी र सुशासन प्रवद्र्धनको अभियान यो सरकार नरोकिएको बताए ।
‘सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाइँलाई अर्को चरणमा उठाउने तयारीमा छौं ।’
उनले भ्रष्टाचार विरुद्धको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
‘नक्कली भुटानी शरणार्थी लगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पुर्याइएको छ । नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचार विरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको छ । अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ ।’
मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको उल्लेख गर्दै उनले सामाजिक न्याय र सुशासनका क्षेत्रमा धेरै काम भएको जानकारी दिए ।