काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेको छ ।
शीलतनिवासमा आज आयोजित समारोहमा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरे ।
प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडलले मानव अधिकारको सबैले उपभोग गर्न पाउनुपर्नेमा जोड दिए । उनले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, पूर्ण प्रेस स्वतन्त्रता लगायत आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतालाई व्यवहारमा उतारी मानवअधिकारको परिपालना गर्ने संस्कृति निर्माणतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले विद्यालय एवं विश्वविद्यालयका पाठ्यक्रममा मानवअधिकार शिक्षा समावेश गर्नुका साथै जनचेतनाका कार्यक्रम व्यापक रूपमा सञ्चालन गर्नुपर्ने जरुरी भएको बताए ।
आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकार संस्कृति कायम गर्ने मूल ध्येयलाई ध्यानमा राखी मानवअधिकारको संरक्षण र संवर्द्धन गर्न आयोगले निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेर काम गरेको बताए ।
प्रतिवेदनमा आयोगमा परेका उजुरी, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण, नेपाल सरकारसमक्ष गरिएका सिफारिस, मानवअधिकार संरक्षण र संवर्द्धनमा आयोगबाट वर्षभरि भएका कार्यहरूको विवरण उल्लेख गरिएको छ । मानव अधिकारको संरक्षण र संवर्द्धनमा देखिएका चुनौती एवं आयोगले चाल्ने भावी कदमबारे समेत प्रतिवेदनमा समावेश गरिएको छ ।
प्रतिवेदनमा यस अवधिमा आयोगमा मानव अधिकारको उल्लंघन वा हनन् भएका जम्मा १०० उजुरी दर्ता भएका छन् भने न्यायका लागि सम्बन्धित निकायमा पहल गरी दिन भनी दर्ता भएका १ हजार ३० वटा निवेदनउपर पत्राचार तथा पीडितलाई परामर्श सेवा प्रदान गरिएको छ ।
मानव अधिकारसँग सम्बन्धित विषयमा २२० पटक अनुगमन भएको छ । आयोगले पुराना र नयाँ गरी ४०३ उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको छ भने १३ वटा नीतिगत र १०२ वटा उजुरीगत सिफारिस गरिएको छ ।