कैलाली । जिल्लाको टीकापुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपीडी सेवा सुरु गरेको छ ।
यसअघि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपीडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
कार्यालय सुरु हुने समयभन्दा अगाडि अस्पतालले ओपीडी सेवा सञ्चालन गरेपछि कर्मचारी र टाढाका बिरामीका लागि सहज भएको छ । बिहानैदेखि ओपीडी सुरु भएपछि आफूलाई सहज भएको टीकापुरका सुवर्ण चौधरीले बताए ।
‘आमाको उपचारका लागि कार्यालयमा बिदा लिएर अस्पताल आएको थिएँ,’ उनले भने, ‘बिहान ९ बजे नै आमाको उपचार सकिएपछि बिदा रद्द गरेर कार्यालय जान सकें ।’
अस्पतालले बिहानको समयमा ओपीडी सेवा सञ्चालन गर्दा आफूहरूलाई सहज भएको स्थानीय नरबहादुर विष्टले बताए । लम्कीबाट उपचारका लागि टीकापुर अस्पताल आएकी सीता देवकोटाले पनि ओपीडी सेवा बिहानै सुरु भएकाले धेरै समय कुर्नु नपरेको बताइन् ।
‘यसअघि आउँदा दिनभर पालो कुर्दै बस्नुपरेको थियो, बिहानैदेखि ओपीडी सुरु भएपछि यसपालि दिनभर बस्नु परेन, उपचार पनि समयमै भयो,’ उनले भने ।
अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले ओपीडी सेवाको समय बढाउने निर्णय यसअघि नै गरेको बताए । नाम दर्ताका लागि अस्पताल पुग्ने व्यक्ति उपचार नगरी घर नफर्किओस् भन्ने उद्देश्यले ओपीडी सेवा बिहानैदेखि सुरु गरिएको उनले बताए । ‘सेवाग्राहीहरूले बिहान नाम दर्ता गरेर घर फर्कने र फेरि उपचारका लागि आउनुपर्ने बाध्यता थियो, बाहिरबाट आउने सेवाग्राहीले पनि लामो समय कुर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘सेवाग्राहीको भीडभाड कम होस्, सबैले सर्वसुलभ सेवा पाउन भनेर ओपीडी सेवा बिहानैदेखि सुरु गरिएको हो ।’
अस्पतालले ज्येष्ठ नागरिकहरूका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म ओपीडी सेवा उपलब्ध गराउँदै आएको छ । हाल अस्पतालमा हाल २० जना चिकित्सकले सेवा दिइरहेका छन् ।
अस्पतालले मिर्गाैलाको डायलासिस सेवा सञ्चालनको प्रक्रिया अघि बढाएको छ । ‘डायलासिस सेवा सञ्चालनका लागि उपकरण आइसकेको छ । अब त्यसको जडान र जनशक्ति व्यवस्थापनको कुरा मात्रै बाँकी छ,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रेमकुमार राईले भने, ‘सम्भवत केही महिनामै डायलासिस सेवा सञ्चालन हुन्छ ।’