दमौली । पृथ्वी राजमार्गलाई ४ लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ ।
तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको सडकमा कालोपत्रे भएको हो ।
सडक फराकिलो बनाइएका ठाउँमा कालोपत्र गर्ने काम अगाडि बढेको पूर्वी खण्डका इन्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । ४१ दशमलव ५ किलोमिटर खण्डमध्ये हालसम्म ९ किलोमिटर खण्ड एकतर्फी कालोपत्र सकिएको उनले जानकारी दिए ।
थप ५ किलोमिटर कालोपत्र गर्ने काम बुधबारदेखि सुरु भएको छ । आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकबाट मार्कीचोकसम्म जोड्ने गरी अल्स्फाट प्रविधिको कालोपत्र सुरु गरिएको उनले बताए । उनले भने, ‘गाउँपालिका चोकबाट सुरु गरेर गत असार महिनामा कालोपत्र गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी बुधबारदेखि कालोपत्रको काम अगाडि बढेको छ ।’
यसअघि आँबुखैरेनी –१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म गरी ३ दशमलव ५ किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भइसकेको छ । अहिले १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कालोपत्रको काम काम अघि बढेको आयोजनाले जनाएको छ ।
उनका अनुसार बन्दीपुर गाउँपालिका–१ नाहालाबाट छिर्कनेसम्म ५ दशमलव ५ किलोमिटर र आँबुखैरेनी–१ बरादीमा ३ दशमलव ५ किलोमिटर खण्ड कालोपत्र सकिएको छ । उनले भने, ‘२ ठाउँमा एकतर्फीरूपमा ९ किलोमिटर खण्ड कालोपत्र सकिएको छ । केही समयपश्चात् अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ ।’
पृथ्वी राजमार्गलाई ४ लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा काम तीव्रगतिमा अगाडि बढेको उनको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणले पनि गति लिएको छ ।
राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा ६३१ घरटहरा भत्काइने छ । त्यसका लागि २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ । पूर्वी खण्डको कामका लागि विक्रम संवत् २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी सडक खण्डमा ३ ठूला र ४ साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विक्रम संवत् २०८१ वैशाखसम्म रहेको छ ।