काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित भएको छ ।
जीतका लागि १५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६ दशमलव २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका लागि आजन आविसले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ६२ बलमा ८ चौकासहित ५६ रनमा अविजित रहे ।
पाकिस्तानी कप्तान साद बैगले ५० रन बनाए । उनले ५६ बलमा ५ चौकासहित ५० रन जोडेका हुन् । मोहम्मद जिशानले ८ बलमा २ चौका र २ छक्कासहित २० रनमा अविजित रहे । नेपालका लागि गुलशन झाले २ विकेट लिए भने आकाश त्रिपाठीले १ विकेट झारे ।
त्यसअघि संयुक्त अरब ईमिरेट्स (यूएई) स्थित दुबइको आईसीसी एकेडेमी २ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५२ रनको योगफल बनाएको थियो । नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे । उनले ७६ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५१ रनको योगदान दिएका हुन् ।
नेपालका दीपेश कँडेलले ३१ रन बनाए । उनले छैटौं विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरेका थिए । कँडेलले ५९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाएका हुन् ।
सुरुआती ओपनर अर्जुन कुमालले २१ रन जोडे । उनले ३७ बलमा ३ चौका प्रहार गरे । खराब ब्याटिङ गरेको नेपालका लागि गुल्सन झा १ रनमै आउट हुँदा १७ ओभरमा ४६ रन जोड्दा नेपालले सुरुवाती ५ विकेट गुमाएको थियो ।
कप्तान देव खनालले १३ बल खेल्दा शून्यमा आउट भए । आकाश त्रिपाठी ६ रनमा आउट हुँदा तिलक भण्डारीले ७ रन जोडे । सुवास भण्डारीले अविजित ८ रन बनाए । बलिङतर्फ पाकिस्तानका मोहम्मद जिशानले ६ विकेट लिए भने अमिर हसनले २ विकेट झारे । उबेद शाह र अली असफन्दले समान १/१ विकेट लिए । नेपालले दोस्रो खेल मंसिर २४ गते अफगानिस्तानसँग खेल्नेछ ।