पोखरा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले भोगिरहेका समस्या र ती समस्या समाधान गर्न कहाँ–कहाँ के–के गर्नुपर्छ भनेर एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको यात्रा सञ्चालन गरेको बताएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा शुक्रबार लमजुङको सुन्दरबजारमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यात्राको क्रममा नागरिक स्तरबाट उठेका समस्यामा एमालेको ध्यान गएको बताए । यात्राको क्रममा नागरिकका समग्र समस्या थाहा भएको उनले बताए ।
एमाले सरकारबाट बाहिरिएपछि अढाइ वर्षमा देश नराम्रोसँग ओरालो लागेको उनले बताए । ‘राजनीति बिग्रियो, अस्थिरता, अन्योल, अविश्वास, असन्तुष्टि, अराजकता र विभिन्न प्रकारका फोटोवादी, अस्थिरतावादी, प्रतिक्रियावादी शक्ति सल्बलाउनेसम्मको स्थिति बन्यो, राजनीति ओरालो लाग्यो, देशको अर्थतन्त्र त्यसैगरी ओरालो लाग्यो, विकास निर्माणका काम ठप्प भए,’ उनले भने ।
एमालेको समयमा बनाइएका बाटाहरू अढाइ वर्षमा फेरि भत्किएका भए पनि त्यसको कसैले मर्मत नगरेको ओलीले बताए । बनिरहेका सडकको काम रोकिएको आफूले यात्राको क्रममा देखेको उनले सुनाए । ‘यो अढाइ वर्ष देशलाई बर्बादीतर्फ धकेल्ने वर्ष भयो,’ उनले भने ।
एमालेबाहेक जतिवटा पार्टी मिले पनि देशको विकास र समृद्धिको काम नहुने उनले दाबी गरे । एमालेले कोभिडको बेलामा त्यत्रो काम गरेको भए पनि गठबन्धन सरकारले सामान्य अवस्थामा पनि कुनै काम गर्न नसकेको उनको भनाइ छ ।
यही अवस्थामा देशलाई ओरालो लाग्न दिन नहुने बताउँदै ओलीले जनतालाई जगाउन एमाले समृद्धिको लागि संकल्प यात्रा सुरु गरेको बताए । देशभरका दाजुभाइ दिदीबहिनीका सुझाव लिएर कसरी अघि बढ्ने भन्ने कुराको परामर्श गर्न यात्रा आयोजना गरिएको उनले प्रष्ट पारे ।
बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।