काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने शुक्रबार घोषणा गरेका छन् ।
चुनावमा विजयी भएमा सत्तामा दशकौं पुरानो पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ ।
७१ वर्षीय पुटिनले यो शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गरेका छन् । उनले ४ वटा राष्ट्रपतीय निर्वाचन जितेका छन् र करीब प्रतिपक्षी नै अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीका रूपमा सेवा गरेका छन् ।
पुटिनले सैनिकहरूका लागि आयोजित क्रेमलिनको कार्यक्रममा पुनः चुनाव लड्ने घोषणा गरे । कार्यक्रममा युक्रेनमा आक्रामक हमलामा लड्ने केही मानिस सहभागी थिए । गत वर्ष पुटिनले युक्रेनमा हमला गर्न आदेश दिएका थिए ।
‘म यसलाई लुकाउँदिन, विभिन्न समयमा मेरो मनमा फरक–फरक विचार थिए तर यो निर्णय लिनुपर्ने समय हो,’ कार्यक्रममा उनले भने, ‘म रुसी संघको राष्ट्रपति पदका लागि निर्वाचन लड्नेछु ।’
उनले एक रुसी सैन्य अधिकारी लेफ्टिनेन्ट कर्णेल अर्टोम जोगासँग कुराकानी गरिरहेका थिए । जोगाले उनलाई निर्वाचनमा लड्न आग्रह गरेका थिए । ‘तपाईंको काम र निर्णयका कारण हामीलाई स्वतन्त्रता प्राप्त भएको छ,’ जोगाले भने, ‘हामीलाई तपाईंको आवश्यकता छ, रुसलाई तपाईंको आवश्यकता छ ।’
विश्लेषकहरूका अनुसार पुटिनले पाँचौं कार्यकालका लागि कुनै ठूलो चुनौतीको सामना गर्नुपर्ने छैन र उनले युक्रेन द्वन्द्वमा घरेलु असहमति लुकाउनका लागि सम्भव भएसम्म ठूलो जनादेश खोज्नेछन् ।
सन् २०२० मा एक विवादास्पद संवैधानिक सुधारपछि उनी कम्तीमा पनि सन् २०३६ सम्म सत्तामा रहन सक्नेछन् । अधिकार समूहहरूले अघिल्ला निर्वाचनहरूमा अनियमितता भएको भन्दै आगामी निर्वाचनमा स्वतन्त्र पर्यवेक्षकहरूलाई मतदानको अनुगमन गर्न रोकिने बताएका छन् ।
राष्ट्रपति पुटिनले नोभेम्बरमा सन् २०२४ को निर्वाचन कभर गर्नका लागि मिडिया नियमहरूलाई कडा बनाएका छन् र केही स्वतन्त्र मिडिया आउटलेटलाई मतदान केन्द्रसम्मको पहुँचमा प्रतिबन्ध लगाएका छन् । निर्वाचन आगामी मार्च १५ देखि १७ सम्म हुनेछ । क्रेमलिनका आलोचकहरूले पुटिनको कदमले पारदर्शिताको ग्यारेन्टीलाई अझ धेरै कठिन बनाउने बताएका छन् ।
क्रेमलिन र युक्रेनमा आक्रमणको समर्थन गर्ने सबै ५ प्रमुख दललाई हस्ताक्षर संकलन विना सन् २०२४ को निर्वाचनका लागि उम्मेदवार प्रस्तुत गर्न अनुमति दिइएको छ ।
पुटिनका सबैभन्दा उच्च प्रोफाइल प्रतिद्वन्द्वी एलेक्सी नभाल्नीले हाल १९ वर्षको कारागार सजाय काटिरहेका छन् । नभाल्नीका समर्थकहरूले उनलाई लगाइएको आरोप झूटा भएको बताएका छन् । बिहीबार आफ्नो टोलीमार्फत जारी गरिएको विज्ञप्तिमा उनले रुसी जनतालाई पुटिनबाहेक ‘कुनै पनि अन्य उम्मेदवार’लाई मत दिन प्रोत्साहित गरे र निर्वाचनलाई निर्वाचन प्रक्रियाको ‘प्यारोडी’ भनेका छन् ।
गत फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेदेखि क्रेमलिनले असहमति प्रकट गर्नेमाथि व्यापक कारवाही गरेको छ । यसलाई अधिकार समूहरूले सोभियत युगको दमनसँग तुलना गरेका छन् । विरोध प्रदर्शनमा भाग लिने हजारौंलाई हिरासतमा लिइएको छ र कारागारमा राखिएको छ । साथै हजारौं मानिस युद्धमा बोलाइने डरले देश छाडेर भागेका छन् ।
युक्रेनमाथिको हमलाका कारण क्रेमलिन प्रमुख पुटिनलाई पश्चिमी नेताहरूबीच अछूत बनाएको छ र उनको मुलुकले युद्धमा वित्तीय व्यवस्था रोक्नका लागि लगाइएको अभूतपूर्व प्रतिबन्धहरूको सामना गर्नुपरेको छ । यद्यपि प्रतिबन्धले सुरुमा पश्चिमी कम्पनीहरूको पलायन र उद्योगमा अशान्ति उत्पन्न गरे पनि अर्थतन्त्र लचिलो साबित भयो र पुटिनको घरेलु अनुमोदन रेटिङ उच्च भएको छ ।