गलकोट (बागलुङ) । बागलुङको सुन्तला पकेट क्षेत्रमा यस वर्ष उत्पादनमा कमी आएको छ ।
सुन्तला गाउँका रूपमा चिनिएको जिल्लाको सिगाना गाउँमा बर्सेनि औँशा किराको सङ्क्रमण बढ्दै गएकाले उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन् ।
सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काको बगानमा यसपटक मात्रै नौ प्लाष्टिकका बोरामा झरेका सुन्तला सङ्कलन गरिएको छ । सुन्तला बढी उत्पादन हुने सिगाना, बिहुँ र सर्कुवालगायत क्षेत्रमा औँशा किराको सङ्क्रमणले सुन्तला झर्न थालेपछि उत्पादनमा गिरावट आएको हो ।
बजेट अभावमा औँशा किराको सङ्क्रमणलाई न्यूनीकरण गर्न नसक्दा पछिल्लो समय बागलुङमा सुन्तला उत्पादनमा कमी आएको खड्काले बताए । बोटमा नै किरा लागेर भुईँमा सुन्तला झर्न थालेको उनको भनाइ छ ।
‘वार्षिक रू दुई लाखदेखि तीन लाखसम्मको आम्दानी सुन्तलाबाटै गर्दै आएको छु । बर्सेनि सुन्तलामा औँशाको सङ्क्रमण बढ्दै गइरहेको छ’, खड्काले भने, ‘बगानमा झरेकै सुन्तला नौ प्लाष्टिकका बोरा भइसके । रोग दिनप्रतिदिन बढ्दै गएको छ । स्थानीय सरकारले कुनै चासो दिएको छैन । बागलुङ नगरपालिकाले सुन्तला किसानलाई प्रदान गर्दै आएको अनुदानसमेत काट्यो ।’
पाक्ने बेलाका सुन्तलामा औंशा किरा देखिएपछि बिक्री गर्ने तयारीमा जुटेका किसानलाई निराश बनाइदिएको छ । अहिले एउटा बोटबाट १० देखि २० प्रतिशतसम्म सुन्तला झरेको बताउँदै यो क्रम बर्सेनि बढ्दै आएको किसानको भनाइ छ । अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका कृषक समस्यामा परेका छन् ।
जिल्लाको धेरै सुन्तला उत्पादन हुने क्षेत्रमामा औँशा किरा समस्या दिन थालेको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले बताए । उनका अनुसार सिगाना, बिहुँ र सकुर्वालगायत स्थानमा सुन्तला खेतीमा औँशाका सङ्क्रमण देखिएको छ
झरेका फल व्यवस्थापन गर्नका लागि प्लाष्टिकका बोरा प्रदान गरे पनि गत वर्ष बजेट अभावमा उपचार गर्न सम्भव नभएको बताउँदै पुनले यस वर्ष औंशा नियन्त्रणका लागि रू छ लाख बजेट विनियोजन भएको जानकारी दिए । अन्नबाली छाडेर व्यावसायिक सुन्तला उत्पादनमा लागेका किसान फल झरेपछि मर्कामा परेका छन् ।
‘बर्सेनि औँशाको समस्या बढ्दै आएको छ । किराका कारण सुन्तला उत्पादनमा कमी आउने देखिएको छ’, पुनले भने, ‘झरेका सुन्तलाको सही व्यवस्थापन गर्न आवश्यक छ भने यसपटक सिगाना र बिउँमा औंशाको उपचार गर्ने योजनामा छौँ । यसका लागि बजेटको समेत व्यवस्थापन भइसकेको छ ।’
सुन्तलालगायत अमिलो प्रजातिका फलफूलमा औंशा किराको सङ्क्रमण देखिएपछि केन्द्रले किसानको बगैँचामा पुगेर त्यसको अध्ययनका साथै रोकथाम र व्यवस्थापनबारे सचेत गराउँदै आएको छ । यस वर्ष भने केही स्थानमा उपचार पनि गरिने पुनले बताए । उनका अनुसार सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायत फलफूलमा यो रोगको सङ्क्रमण फैलिरहेको छ ।