मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधि र कर्मचारीलाई लाभ र प्रभावमा नपरी कार्य गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीद्वारा आज शनिबार विराटनगरमा आयोजित भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सम्बन्धी कार्यक्रम उद्घाटन गर्दै उनले ऐन, नियमावली, कार्यविधि अनुसार काम गरे अख्तियारले दण्डिन होइन पुरस्कृत गर्ने बताए ।
मुख्यमन्त्री कार्कीले संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय तहबीच सुशासन कायम गर्नेतर्फ प्रतिस्पर्धामा लाग्न आग्रह गरे । ‘राज्यका सबै अंग एकअर्काका पूरक हुन्, आयोग अपराधीका लागि कठोर हो भने असल नियतले काम गर्नेका लागि पवित्र नदी गंगा हो,’ उनले भने ।
उनले तोकिएभन्दा कम रकममा टेन्डर सम्झौता गरी काम नगर्नु पनि भ्रष्टाचार भएकाले प्रदेश सरकारले यस कार्यलाई कुनै किसिमको छुट नदिने प्रष्ट पारे ।
प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले सरकारका सबै अंग भ्रष्टाचार विरुद्धमा लाग्नुपर्ने बताए । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले भ्रष्टाचार नियन्त्रणमा सबैले आफ्नो क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए ।
त्यस अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अख्तियारबाट स्थानीय तह पीडित भएकाले उजुरी उपर अनुसन्धान छिटो टुंग्याउन सुझाव दिए ।
आयोगका इटहरी प्रमुख सुरेश न्यौपानेले मुलुकमा भ्रष्टाचारको अवस्था र नियन्त्रण विषयक कार्यपत्र प्रस्तुत गर्दै सबैभन्दा बढी स्थानीय तह सम्बन्धी ३५ दशमलव १० प्रतिशत उजुरी आएको जानकारी दिए ।
सो अवसरमा प्रदेशका सरकार अन्तर्गतका सबै मन्त्रालयका सचिव, संघीय सरकार कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिको सहभागिता थियो ।