धादिङ । नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ बागमती प्रदेश प्रवेश गरेको छ ।
बागमति प्रदेश प्रवेशका क्रममा टोलीलाई आरुघाटमा भव्य स्वागत गरियो । टोलीलाई पार्टीका नेता तथा कार्यकर्ताले फूलमालाले स्वागत गरेका थिए ।
एमाले गण्डकी प्रदेशको टोलीले बागमतीको टोलीलाई झण्डा हस्तान्तरण गरी धादिङ प्रवेश गराएको छ ।
बागमती प्रदेश प्रवेश गर्नुअघि गोरखाको आरुघाटतर्फ आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सुरु गरेको यात्रा लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताए । राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको उनको भनाइ थियो ।
गण्डकी प्रदेशको गोरखा र बागमती प्रदेशको धादिङको सिमाना आरुघाट हुँदै सल्यानटार उक्लिएर आज शनिबार दिउँसो टोली नुवाकोटतर्फ लागेको थियो । नुवाकोट मध्यपहाडी राजमार्गको मध्यविन्दु हो । १ हजार ८७९ किलोमिटर लामो राजमार्गको आधा भाग नुवाकोटबाट पूर्व र आधा भाग पश्चिमतर्फ पर्छ ।
यात्रामा पार्टी अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायत नेता छन् ।
एमालेको समृद्धिका लागि संकल्प यात्राअन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको यात्रा गरिसकेको छ । मंसिर १४ गते मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट यात्रा सुरु भएको एमालेको यात्रा पूर्वी सीमाविन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुंगिनेछ ।