कैलाली । धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत आज शनिबार सम्पन्न २ खेलमा युथ अफ टीकापुर र गरुडा नगरपालिका विजयी भएका छन् ।
समूह ‘बी’बाट युथ अफ टीकापुरले सेमिफाइनलमा स्थान समेत पक्का गरेको छ । पहिलो खेलमा युथ अफ टीकापुरले कैलाली मल्टिपल क्याम्पसलाई पराजित गर्दै समूह चरणमा ३ जीतका टीकापुरले सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।
युथ अफ टीकापुरले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ११ ओभरमा कैलालीले ७ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो । कैलालीको ब्याटिङमा कप्तान दीपक कँडेलले सर्वाधिक ३८ रन र पारस रोकायाले १२ रन योगदान दिए ।
युथ अफ टीकापुरका लाग सुमित महर्जनले २ विकेट लिए भने मोहम्मद हुसेन, हरि चौहान, गौतम केसी र प्रकाश जैसीले १/१ विकेट लिए ।
खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिङ गर्दै युथ अफ टीकापुरले ७ विकेट गुमाएर ९४ रन बनायो । टीकापुरका लागि प्लेयर अफ द म्याच घोषित गौतम केसी तथा प्रकाश जैसीले समान ३४ रनको योगदान दिए । केसीले २७ बलमा १ चौका र ३ छक्का तथा जैसीले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ३८ रनमा ४ विकेट गुमेको अवस्थामा केसी र जैसीले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे ।
कैलालीको बलिङमा अभिषेक कुँवर र सुशील विष्टले २/२ तथा लोकेन्द्र खनाल र पारस रोकायाले १/१ विकेट लिए । दोस्रो खेलमा गरुडा नगरपालिकाले विजयी सुरुवात गर्ने क्रममा सुदूरपश्चिमाञ्चल एकेडेमीलाई ९८ रनले पराजित गर्यो ।
गरुडाले दिएको १७४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमाञ्चल एकेडेमीले २० ओभरमा ८ विकेटको क्षतिमा जम्मा ७५ रन मात्र बनायो । सुदूरपश्चिमाञ्चल एकेडेमीको लागि निसान रेग्मीले १८ तथा सौर्य श्रेष्ठले १४ रन बनाए । गरुडाका बलर धर्मेन्द्र साहले ४ विकेट लिए । उनले ४ ओभरमा १२ रन मात्र खर्चिए । नरेश शाह, रुपेश सिंह र नितेश यादवले १/१ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको गरुडाले २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । गरुडाका लागि रुपेश सिंहले आक्रामक ब्याटिङ गर्दै ६० रन योगदान दिए । उनले २९ बल खेल्दै ५ चौका र ५ छक्का प्रहार गरे । निश्चल बिक्रमले अविजित ४३ रन बनाए । उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । जम्मा ७६ रनमा ६ विकेट गुमेको अवस्थामा रुपेश र निश्चलले ७४ रनको साझेदारी गरे ।
सुदूरपश्चिमाञ्चलका लागि पारस सुनार र सन्दीप विष्टले २/२ विकेट लिए । प्रकाश जोशी, वीरेन्द्र चन्द, सौर्य श्रेष्ठ र सागर साउदले १/१ विकेट लिए ।
प्रतियोगिताका उपाधि विजेताले २ लाख ५५ हजार र उपविजेताले १ लाख २८ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ टीमको सहभागिता छ ।