सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आयात प्रतिस्थापनका लागि उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघको आज आयोजित ४०औं वार्षिक साधारण सभामा मुख्यमन्त्री शर्माले उत्पादनमा वृद्धि नभएसम्म आयात प्रतिस्थापन नहुने जनाए ।
उनले भने, ‘उत्पादन वृद्धिका लागि उद्योग स्थापना र त्यसमार्फत रोजगारी सिर्जना नै हो । वन पैदावर र कृषिमा आधारित उद्यमशीलतामार्फत उत्पादन र रोजगारी सिर्जना गर्न सकिन्छ । कर्णालीमा वन पैदावर र कृषि नै उपयुुक्त छ ।’
मुख्यमन्त्री शर्माले निजी क्षेत्र, सहकारी र राज्य मिलेर विकास गर्न सकिने भएकाले तीनखम्बे अर्थनीतिलाई आत्मसात् गरिएको जनाए । एकल नभई सबै मिलेर विकास, समृद्धि र रोजगारी सिर्जना गर्न प्रदेश सरकार साथमै रहेको जनाउँदै कर्णाली प्रदेश पछि परेको नभई पछाडि पारिएको जिकिर गरे ।
पटक–पटक क्षतिपूर्ति सहितको बजेट र कार्यक्रम माग संघीय सरकारसँग गरेको उल्लेख गर्दै मुख्यमन्त्री शर्माले भने, ‘जनसंख्याका आधारमा होइन, भूगोल, यहाँको वस्तुगत अवस्था अनुसार नीति र बजेटसहित कर्णालीको विकास गरिनुपर्छ । राजनीतिक आग्रह पूर्वाग्रहबाट माथि उठ्नुपर्छ ।’
कर्णालीको विकासका लागि कर्णाली प्रदेशका सबै दल, नागरिक समाज र उद्योग व्यवसायीहरूको साझा बुझाइ हुनुपर्नेमा उनको जोड थियो ।
कर्णालीको विकासलाई पर्यटनसँग जोड्न कर्णाली करिडोर, भेरी र राप्ती लोकमार्गको विकासमा जोड दिनुपर्ने बताएका उनले राजधानीसँग सिधै जोड्ने गरी १० एयरपोर्टको स्तरवृद्धि र व्यवस्थापन ध्यान दिइएको जनाएका छन् ।