गलकोट । बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त छिन् । उनले मौरीपालन काम गर्न थालेको ३ वर्ष पुगिसक्यो ।
उनले भनिन्, ‘बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेकी हुँ । यसमा श्रीमानको साथ र सहयोग पनि रहेको छ ।’
अहिले पाठकको मौरीफार्ममा ४५ मौरी सहितका घार छन् । उनले बाख्रापालनभन्दा मौरीपालनबाट राम्रो आम्दानी भएको बताइन् । उनले वर्षमा ५५० किलोग्राम मह उत्पादन हुँदै आएको बताइन् ।
‘परिवारको सहयोग छ, आफैं मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मौरी बिक्रीका लागि बजार पुग्न पर्दैन, भैरवस्थान मन्दिर दर्शनका लागि आएकाले खरिद गरेर लैजान्छन्,’ किसान पाठकले भने, ‘४५ बाख्रा समेत पालेको थिएँ तर बाख्रा पाल्न अलि धेरै खर्च हुने रहेछ, अहिले १० वटा मात्रै बाख्रा छन्, मौरीपालनमा चोखो आम्दानी छ, त्यसका साथसाथै तरकारी खेती समेत गर्दै आएको छु ।’
उनले ससुराबुवा देवीप्रसाद पाठकले परम्परादेखि पाल्दै आएका मुडेघारको मौरीलाई ३ वर्षअघिदेखि व्यावसायिक बनाउन थालेकी हुन् । घरमा अझै पनि केही मुडेघार छन् । बाख्रापालनका लागि २०० वटा राइखन्यूका बिरुवा लगाइएको र आगामी दिनमा बाख्राको संख्या समेत बढाउँदै लैजाने गरी आधुनिक खोर व्यवस्थापन समेत गरिएको छ ।
५० वटा बाख्रा अट्ने गरी खोर व्यवस्थापन गरिएको पाठकको भनाइ छ । ‘बाख्रालाई भन्दा केही सहज छ मौरीपालन, मौरीपालनमा जोखिम भए पनि आम्दानी राम्रो छ, गत वर्ष १ लाख ५० हजार बराबरको अनुदान समेत पाएको थिएँ,’ उनले भनिन्, ‘४५ घारबाटै वार्षिक ६ लाख बढी कमाउन सकिने रहेछ, त्यसैले बाख्रापालनमा भन्दा मौरीपालनमा बढी ध्यान दिन थालिएको छ, आगामी दिनमा १०० मौरीका घार पुर्याउने हाम्रो परिवारको योजना छ ।’
मौरीपालनलाई रोगबाट जोगाउन सके मात्र पुग्ने उनको भनाइ छ । महिला अगाडि बढेर बाख्रापालन र मौरीपालनमा लाग्दा परिवारको राम्रो सहयोग मिलेको बताउँदै आयआर्जनका लागि महिला अग्रसर हुन आवश्यक रहेको पाठकको भनाइ छ । ४ वर्षअघि कुश्मा पुगेर मौरीपालन तालिम लिएपश्चात मौरीपालनमा लागेकी पाठकले यसबाट राम्रो आम्दानी गर्न थालेपछि दंग भएकी छन् ।
अहिले प्रतिकेजी १ हजार २०० रुपैयाँमा मह बिक्री भइरहेको बताउँदै पाठकले बजारको समस्या नरहेको जानकारी दिइन् । अग्र्यानिक मह उत्पादन गर्न सके बजारको चिन्ता लिन नपर्ने उनको भनाइ छ । उनको फार्ममा बलेवामै उत्पादन भएको बलेवा मौरीपालन उद्योगको आधुनिक घार र जसन घार भारतबाट समेत निर्यात गरिएको छ ।
मौरीलाई चिसोबाट जोगाउन जस्ताको छाना लगाइएको मौरीपालक किसानको भनाइ छ ।
कोट भैरव कृषि मौरी र पशुपंक्षी फार्ममा गत आर्थिक वर्ष कृषि ज्ञान केन्द्रले मह उत्पादन वृद्धि कार्यक्रमअन्र्तगत १ लाख ५० हजार अनुदान समेत दिएको कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले जानकारी दिए । उनले बागलुङमा महको उत्पादन बढाउन आधुनिक मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको बताए ।