बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१ दशमलव ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेक थु्र’ भएको छ ।
इन्लेट र आउटलेट गरी २ ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करीब २० महिनामा २ हजार ७०० मिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल) निर्माण गरेको हो ।
संयुक्त ऊर्जा लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा २०७८ मंसिरदेखि टनेल निर्माण सुरु भएर शनिबार टनेल ब्रेक थ्रू गरेको आयोजनाका प्रमुख रवीन्द्र हमालले जानकारी दिए । उनका अनुसार हिमाली क्षेत्र र प्राकृतिक प्रकोप लगायत कारण आयोजनामा करीब २० महिना मात्रै नियमित रूपमा काम भएको छ । ‘आयोजनाको सबैभन्दा कठिन मानिने टनेल जोड्ने काम सकिएको छ, ड्यामसाइड र विद्युत् गृहमा समेत धमाधम काम भइरहेको छ,’ उनले भने ।
७० प्रतिशत निर्माण सम्पन्न भएको आयोजनामा आगामी ८ महिनाभित्र निर्माण सकेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । रघुगंगा नदीस्थित फेदीखोलामा मुहान रहने आयोजनामा पानीलाई छरीस्थित रघुगंगा नदीको किनारमा रहने विद्युत गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । आयोजनामा ६०० मिटर पेनस्टक टनेल रहनेछ । ४९५ मिटर पेनस्टक टनेल खनिसकिएको छ भने १०० मिटर भर्टिकल पेनस्टक टनेलमध्ये ५० मिटर खन्न बाँकी छ ।
आयोजनामा अहिले करीब २२५ जना कामदारले नियमितरूपमा काम गर्दै आएका छन् । गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ । आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ ।
आयोजनामा गत असारमा आएको बाढीले बाँधतर्फ निर्माणाधीन पूर्वाधारमा क्षति पुर्याएपछि आयोजनको निर्माण कार्य केही पछि धकेलिएको हो । आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर/त्रिपल एस जेभीले आवश्यक जनशक्ति र मशिन उपकरण परिचालन गरेर आयोजनालाई थप गरिएको लक्ष्यमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ ।
आयोजना सम्पन्न गर्न करीब ३ अर्ब ६० करोड लागत अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि २३ किलोमिटर लामो प्रसारण लाइन निर्माणको चरणमा छ ।