नेपालगञ्ज । बाँकेमा बालबालिकालाई लगाइने खोपको गुणस्तर कामय राख्न लुम्बिनी प्रदेश सरकारले निर्देशन दिएको छ । प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले गरेको अनुगमनका क्रममा खोपको गुणस्तर कायम राख्नका लागि खोपको ‘कोल्डचेन’ व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
प्रत्येक वर्ष खोज र खोप रणनीति अवलम्बन गर्दै पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउन अनुरोध गरिएको छ । आज नेपालगञ्जमा आयोजना गरिएको पूर्ण खोप सुनिश्चितता र दीगोपना कायक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले खोपको प्रभावकारितासँगै महामारी रोग नियन्त्रण हुने बताए । उनले भने 'अहिले नसर्ने रोगको महामारी देखिएको छ, त्यसैले यसको सम्बोधन गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरेको छ ।'
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेल पाण्डेले खोपको गुणस्तर कायम गर्न जथाभावी खोप लगाउने कामलाई निरुत्साहित गर्न जोड दिँदै स्वास्थ्यकर्मी चनाखो हुनुपर्ने बताए । 'हामीले धेरै गर्मीमा पनि खोप लगाउने गर्छौैँ तर धेरै गर्मीका कारण खोपको गुणस्तरमा कमी आएको जस्तो देखिएको छ', उनले भने ।
सो अवसरमा लुम्बिनी प्रदेशसभाका सदस्यद्वय रत्न खत्री र बादशाह कुर्मी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, स्वास्थ्य प्रदेश निर्देशनालयका निर्देशक डा विनोदकुमार गिरीले खोपबारे प्रकाश पारेका थिए । जिल्लामा माघदेखि घरधुरी सर्वेक्षण सुरु भई खोज र खोप अभियान सञ्चालन भएको थियो । सर्वेक्षणमा १६ देखि २३ महिनाका आठ हजार तीन सय ३६ कूल बच्चामध्ये एक सय सात शून्य डोज र पाँच ६६ आंशिक छुट बच्चा फेला परेकोमा सबैलाई खोप प्रदान गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा सबैभन्दा बढी ९६ शून्य डोज र एक सय ६७ आंशिक छुट फेला परेका थिए । खोपको बारेमा महिला स्वंयम्सेविकासहित समुदाय स्तरमा खोपको बारेमा सघन घरधुरी सर्वेक्षण भएको स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकल पर्सन नरेशबाबुु श्रेष्ठले जानकारी दिए ।