काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरूसँग छलफल सकेको छ । प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए ।
समितिको आजको बैठकले उजुरीकर्ता पुष्पप्रसाद गुरागाईं, चिरञ्जीवीभक्त पौडेल, प्रेमप्रसाद साह, युवराज चापागाईं, प्रवीण खनाललगायतसँग जानकारी लिएको हो । त्यसक्रममा उजुरीकर्ताले आफ्नो उजुरी पुष्ट्याइँका सन्दर्भमा विभिन्न प्रमाणसहित दलील पेस गरेका थिए ।
न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीश र वरिष्ठ अधिवक्ता दुई जनालाई सर्वाेच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।
अब प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ मंसिर २९ मा मात्र हुने संघीय संसद सचिवालयले जनाएको छ । यस बीचमा केही राजनीतिक दलको आन्तरिक कार्यक्रम तय भएकाले सुनुवाइ मिति पछाडि सारिएको बताइएको छ ।
न्यायपरिषदको मंसिर ५ मा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।
उनीहरूको संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्र नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।