काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाको छानबिन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको कामलाई संक्रमणकालीन न्यायका मान्य सिद्धान्त अनुरूप प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताएका छन् ।
मानव अधिकारको विश्वव्यापी घोषणा भएको ७५ वर्ष पुगेका अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले ती आयोग सम्बन्धी कानूनमा विद्यमान कानूनमा परिमार्जन र संशोधन गर्न संघीय संसद्मा विधेयक पेश गरिएको जनाए ।
मानव अधिकारको क्षेत्रमा सबै राष्ट्र तथा समुदायको साझा उपलब्धि र आधारभूत मापदण्डको रूपमा लिइएकाले सबै प्रकारका अधिकारहरूलाई नेपालको संविधानमा प्रत्याभूत गरिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उनले मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा तथा नेपाल पक्ष भएका मानवअधिकार सम्बन्धी महासन्धिद्वारा व्यवस्था गरिएका सबै प्रावधानलाई सम्मान गरिने स्पष्ट पारे ।
‘लोकतन्त्रको स्थापनाका लागि नेपाली जनताले गरेको पटक–पटकको संघर्षको परिणामस्वरूप जननिर्वाचित प्रतिनिधिहरू रहेको संविधानसभाले निर्माण गरेको नेपालको संविधानले समावेशी लोकतन्त्रको अवलम्बन गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पछाडि पारिएका र वञ्चितीकरणमा परेका उत्पीडित, अल्पसङ्ख्यक र सीमान्तकृत समुदायको अस्तित्वको पहिचान, स्वतन्त्रता, समानता र न्यायको प्रत्याभूतिका लागि समानुपातिक प्रतिनिधित्व र सकारात्मक विभेदको नीतिलाई आत्मसात गरेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राजनीतिक अधिकारको सन्दर्भमा समावेशी प्रतिनिधित्वको नीति सकारात्मक देखिए पनि अर्थपूर्ण सहभागिताको विषय अझै पनि चुनौतीपूर्ण रहेको छ ।’
राज्यको साधनस्रोतको सीमितताका बाबजुद संविधानमा प्रत्याभूत गरिएका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको कार्यान्वयनका विषय थप चुनौतीपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो दशकमा भएका ऐतिहासिक परिवर्तनबाट प्राप्त महत्त्वपूर्ण राजनीतिक उपलब्धिको जगमा मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरण गरी विद्यमान वर्गीय, क्षेत्रीय, भाषिक, धार्मिक र लैंगिक विभेद तथा असमानता अन्त्य गरी समतामूलक समाज निर्माण गर्न इमान्दार रूपले सत्प्रयास गर्नु सबैको कर्तव्य रहेको बताए ।
सूचना प्रविधिको विकासले मानव समाजलाई थप सहज र सरल बनाए पनि प्रविधिको असमान विकासले यसको पहुँच र प्रयोगमा विभेद सिर्जना गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वव्यापीकरण र खुला बजारमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण वस्तु र सेवाको उत्पादनदेखि उपभोक्तासम्म पुग्ने आपूर्ति श्रृंखलाका विभिन्न चरणमा संलग्न श्रमिक र सीमान्तकृत समुदायको आधारभूत मानव अधिकारको सुनिश्चितताको विषय थप चुनौतीपूर्ण बन्न पुगेको बताए ।
‘विश्वका विभिन्न ठाउँहरूमा भइरहेका सशस्त्र संघर्ष र युद्धका क्रममा महिला, बालबालिका र ज्येष्ठ नागरिक लगायतका गैरसैनिक सर्वसाधारण एवं घाइते तथा बन्दीहरूको आधारभूत मानव अधिकारको संरक्षणको सन्दर्भमा मानव अधिकारको विश्वव्यापी घोषणाको कार्यान्वयनको सान्दर्भिकता अझै टड्कारो बन्न पुगेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।