काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत अफगानिस्तान विरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरे तापनि नेपाल पराजित भएको छ ।
यूएईको दुबइस्थित आईसीसी एकेडेमी २ मैदानमा आज आईतबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो ।
यो हारसँगै प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अत्यन्त न्यून भएको छ । यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।
अफगानिस्तानको भने यो पहिलो जीत हो । यसअघि भएको पहिलो खेलमा अफगानिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो । अफगानिस्तानले नेपाललाई जीतका लागि २६२ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १८८ रनमा समेटियो ।
नेपालका लागि कुमालले सर्वाधिक ९१ रनको योगदान दिए तापनि त्यो जीतका लागि पर्याप्त बन्न सकेन । अर्जुनले १०८ बल खेल्दै १३ चौकाको मद्दतमा ९१ रनको योगदान गरेका हुन् । अर्जुनबाहेक अन्य कुनै पनि नेपाली खेलाडीले उत्कृष्ट ब्याटिङ गर्न सकेनन् र अन्ततः नेपाल पराजित हुन पुग्यो ।
नेपाली टोलीका कप्तान देव खनालले २४ रन बनाए भने गुल्शन झाले १७ रन जोडे । दीपक बोहराले १५, दीपेश कँडेलले ११, सुवास भण्डारीले ८ तथा उत्तम मगरले ४ रन बनाए । नेपाललाई १८८ रनमा समेट्ने क्रममा अफगानिस्तानका फरिदुन दावुदजाई र नसिर खानले समान ३/३ विकेट लिए भने मोहम्मद युनिस जद्रानले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २६१ रनको योगफल बनाएको थियो । अफगानिस्तानको लागि जाम्शिद जद्रानले शतक प्रहार गरे । उनले १५२ बलमा ८ चौकासहित १०६ रनको योगदान गरे । नौमान साह अघाले ६० रन बनाए । उनले ४१ बलमा ५ चौका र ३ छक्कासहित ६० रन बनाएका हुन् ।
यसैगरी राहिमुल्लाह जुरमातीले ३५ रन बनाए भने वाफिउल्लाह ताराखिलले १५ रन बनाए । खालिद तानिवाल १० रन बनाए । नेपालका लागि हेमन्त धामी, गुलशन झा र सुवास भण्डारीले समान २/२ विकेट लिए भने दीपेश कँडेल र आकाश चन्दले समान १/१ विकेट लिए । अब नेपालले आफ्नो तेस्रो खेल मंसिर २६ गते भारतसँग खेल्नेछ ।