कैलाली । धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) प्रतियोगितामा घोडाघोडी क्रिकेट एकेडेमी समूह ‘सी’बाट सेमिफाइनल पुगेको छ ।
यसअघि समूह ‘बी’बाट युथ अफ टीकापुर सेमिफाइनल पुगिसकेको छ ।
आज आईतबार भएको खेलमा गरुडा नगरपालिकालाई ६ विकेटले पराजित गर्दै घोडाघोडी सेमिफाइनलमा पुगेको हो । घोडाघोडी अहिलेसम्म अपराजित रहेको छ । गरुडासहित आयोजक लिटल फ्लावर स्कूल र सुदूरपश्चिमाञ्चल एकेडेमी पहिलो चरणबाटै बाहिर भएका छन् ।
खेलमा गरुडा नगरपालिकाले दिएको १२९ रनको लक्ष्य घोडाघोडीले १७ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । घोडाघोडीका ओपनर विपिनविक्रम शाही र टेक रावतले ९३ रनको ओपनिङ साझेदारी गर्दै जीतको आधार तयार गरे । विपिनले ३९ बलमा ६ चौका र ३ छक्का मद्दतले ५५ रन बनाए भने टेकले २९ बलमा ३ चौका र २ छक्काको मद्दतले २५ रन बनाए । कृष कार्कीले अविजित १५ तथा निशान्त बुढायरले अविजित १० रन बनाए ।
गरुडाका बलर डब्लु मलिकले ३ तथा नितेश यादवले १ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको गरुडा नगरपालिकाले २० ओभरमा सबै विकेट गुमाएर १२८ रन बनायो । गरुडाका लागि डब्लु आनन्द मलिकले सर्वाधिक ३५ रन बनाए । सोभेन्द्र पासवानले २३, नितेश यादवले १९ तथा सैलेन्द्र कुशवाहाले १७ रन बनाए ।
‘प्लेयर अफ दी म्याच’ घोषित घोडाघोडीका बलर भूपेश जोशीले ५ विकेट लिए । उनले ४ ओभरमा मात्र १३ रन खर्चिए । सञ्जय बोहरा, अशोक धामी र नरेश सुनारले १/१ विकेट लिए ।
सत्यवती एकेडेमी र लिटल एन्जल्स स्कूलबीचको आजको दोस्रो खेल भने लिटल एन्जल्स टोली अनुपस्थित हुँदा खेल हुन सकेन । समूह ‘डी’मा रहेको सत्यवतीले खेल नखेलेता पनि २ अंक पाएको छ । सत्यवतीको २ खेलमा ४ अंक भएको छ ।
प्रतियोगिताको उपाधि विजेताले २ लाख ५५ हजार र उपविजेताले १ लाख २८ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टोलीको सहभागिता रहेको छ ।