गोरखा । गोरखामा ५४ किलो बराबरको क्वाज क्रिष्टल ढुंगा बरामद भएको छ । गोरखा नगरपालिका–७ सतिपिपलबाट प्रहरीले ५४ किलो बराबरको 'क्रिस्टल ढुंगा' बरामद गरेको हो ।
किनबेच हुन लागेको सूचनाको आधारमा ढुंगा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनुपम श्रेष्ठले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा क्वाज क्रिष्टल (जरी ढुंगा) रहेको प्रहरी अनुमान छ । जरी ढुंगा गरगहना बनाउन र बहुमूल्य धातुको रुपमा प्रयोग हुन्छ । उनले भने, 'टर्च वा केहीको उज्यालो पर्दा यसको प्रकाश वारपार हुन्छ, यस्तो चम्किलो ढुंगा सितिमिति भेटिँदैन ।'
उक्त ढुंगा खानी तथा भूगर्भ विभागमा परीक्षण गर्ने तयारीमा रहेको र त्यसपछि मात्रै त्यसको बारेमा आधिकारिकता थाहा हुने प्रहरीको भनाई छ । ढुंगा परीक्षणपछि मात्रै बहुमूल्य वा पुरातात्त्विक महत्वको भन्ने खुल्ने श्रेष्ठले बताए ।


























