काठमाडौं ।वैदेशिक रोजगार विभागबाट सरुवा भएका मदन दाहालले महानिर्देशकको रुपमा गरेको कामका विवरण सार्वजनिक गरेका छन् ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा भएका उनले आफ्नो ७ महिने कार्यकालमा गरेको कामको विवरण सार्वजनिक गरेका हुन् ।
गत जेठ ४ गते वैदेशिक रोजगार विभागमा हाजिर भएका दाहालले सात महिने कार्यकालमा उनले आफ्नो कार्यकालमा २ वटा मेनपावर व्यवसायीको लाइसेन्स खारेज गरेका थिए । एक मेनपावर व्यवसायीको कारबाही भने फिर्ता भएको छ । श्रममन्त्री शरतसिंह भण्डारी समक्ष पुनरावलोकनका लागि परेको निवेदनमाथि छानबिन गर्दै लाइसेन्स खारेजीको निर्णय बदर गरेका हुन् ।
दाहालले आफ्नो कार्यकालमा १६ मेनपावर व्यवसायीलाई निलम्बन गरेका छन् भने ३२ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएका छन् । दाहालको कार्यकाल अवधिमा मेनपावर व्यवसायीबाट ठगिएको भन्दै २६९ उजुरी परेका थिए । जसमा १६२ मिलापत्र गराइएको छ । मेनपावर व्यवसायीबाट ठगी वापत २ करोड ९२ हजार ६१३ रुपैयाँ क्षतिपूर्ति पीडितलाई भुक्तानी गराइएको थियो ।
त्यस्तै व्यक्तिगत रूपमा ठगीको भन्दै ५९२ उजुरी परेका छन् । जसमा २३ करोड २७ लाख ९७ हजार रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको थियो । ६० मुद्दा अदालतमा दर्ता भएका छन् । भने ६८ मुद्दा मिलापत्र गरिएको छ ।
विभागले इजाजत पत्र प्राप्त संस्था र तालिम प्रदाय संस्थाहरूको दर्ता तथा नवीकरण, नामसारी, ठाउँ सारी, वैदेशिक रोजगारीको सिलसिलामा ठगी परेका, अलपत्र परेका, सम्झौता बमोजिम काम र तलब सुविधा नपाएका कामदारहरूको सम्बन्धमा विभागले उच्च निगरानी राख्दै आएको उनको भनाई छ ।