काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय काम देखेर विरोधीहरू भ्रम र जालझेलको षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन् ।
सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा राम्रा काम अघि बढाएपछि व्यवस्था विरोधी शक्ति अत्तालिएको उनको भनाइ छ ।
नेकपा माओवादी केन्द्रले काठमाडौंको गोकर्णेश्वरमा आयोजना गरेको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ अन्तर्गत कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहालले सरकार बनेदेखि नै सरकारविरुद्ध लागेकाहरु अहिले झनै अत्तालिएर संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेको बताए ।
‘एकथरीले सरकार गठन भएदेखि नै नेपाल श्रीलंका बन्ने भयो, उत्पातै हुने भयो, आकाशै खस्ने भयो भन्ने किसिमले प्रचार गरे,’ उनले भने, ‘तर सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा राम्रा काम गर्दै गएपछि यसरी कुप्रचार गर्नेहरू विक्षिप्त बनेर व्यवस्थाविरुद्ध अनर्गल प्रचारबाजी र सरकारलाई बद्नाम गर्ने षड्यन्त्रमा लागेका छन् ।’
व्यवस्था विरोधीले संघीयता, धर्मनिरपेक्षता, जाति, वर्ग, क्षेत्र र लिङ्गका अधिकारविरुद्ध नै प्रहार गर्न पुगेका उनको भनाइ छ । सरकारले सामाजिक न्यायका पक्षमा इतिहासकै महत्त्वपूर्ण निर्णय गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितका पक्षमा कानून निर्माण गरेर सामन्तीको पीडाबाट हजारौं जनतालाई मुक्ति दिन सफल बनेको बताए ।
‘मिटरब्याज पीडितका पक्षमा आयोग र ऐन नै बनाएर पीडकमाथि कारबाही गरियो, पीडितका लागि यो मुक्ति अभियान जस्तै भयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बुवाआमा नेपाली भएर पनि नागरिकता नपाउनुको पीडा झेलेका लाखौं नेपालीले नागरिकता पाउन सके ।’