काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान पुनःसंरचना गर्ने निर्णय गरेको छ ।
आज केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदीय दलको बैठकमा दलको विधानमा पुनःसंरचना गर्ने विषयमा छलफल भएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
‘हामीले यसअघि नै संसदीय दलको विधानको मस्यौदा तयार गरेका थियौं । जलेश्वरको बैठकपछि त्यसलाई फेरि पुनःसंरचना गर्नपर्ने भएर विधानसम्बन्धी छलफल गर्यौं,’ उनले भने ।
बैठकमा आगामी अधिवेशनमा संसद् र संसदीय समितिलाई सक्रिय बनाउने विषयमा छलफल भएको उनले बताए । उनका अनुसार सांसदले आफ्नो क्षेत्रगत समस्या संसदको शून्य समयमा र राष्ट्रिय मुद्दा विशेष समयमा प्रस्तुत गर्ने विषयमा छलफल भएको बताए ।
प्रमुख सचेतक परियारले भने, ‘पार्टीले राष्ट्रिय मुद्दालाई अध्ययन र अनुसन्धान गरी टुंग्याउने हिसाबले उठान गर्नेबारे पनि छलफल भयो ।’
सचेतक निशा डाँगीले जनताका मुद्दा र सार्वजनिक महत्त्वका विषयमा उठाएको मुद्दाको सम्बोधन र समाधानका विषयमा पार्टी कहाँ चुक्यो भन्नेमा छलफल भएको जानकारी दिए ।
‘हामीले विगतमा जे जति मुद्दा उठायौं, त्यसलाई टुंगोमा पुर्याउन बिर्सिएको हो कि भन्ने विषय आजको बैठकमा छलफल भयो,’ उनले भने, ‘विगतमा हामी कहीँकतै चुकेको भए आगामी दिनमा कस्ता मुद्दा उठाउने र त्यसलाई कसरी निरन्तरता दिने विषयमा पनि छलफल केन्द्रित भयो ।’