काठमाडौ । नेपाल सरकारका उपसचिव तथा साहित्यकार ओम रिजाल साहित्यमा रुचि राख्ने र कलम चलाउने व्यक्ति हुन् । लोक साहित्य लगायतका विभिन्न साहित्यिक विधा, इतिहास आदिका पुस्तक पढ्ने, त्यसबारे रुचि राख्ने रिजालको पुस्तक ‘हटारु’ नेपाली साहित्यका पाठकमाझ निकै लोकप्रिय छ ।
अहिले पनि उनी गाउँ जाँदा वृद्धवृद्धासँग बसेर संस्कृति, इतिहास, लोकसाहित्यको संकलन गर्ने गर्छन् । सानैदेखि रिजाललाई लोक साहित्यप्रति रुचि थियो । घर परिवारमा पनि साहित्यिक माहौल थियो । उनका फुपूहरूबाट पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा हौसला प्रदान गर्ने काम भयो । व्रतबन्ध पूजाआजा आदिमा फुपूहरूले झोडा, मागल आदि गाउने गर्थे । मागल भनेको माङ्गलिक कार्यमा गाइने लोकगीत हो ।
पूर्ण प्रकाश नेपाल यात्रीले मागल र झोडालाई नारी वेद भनेका छन् । जसरी हामीले बौद्धिक कार्य गर्दा रेखी हाल्ने चलन छ, त्यसको पनि एउटा मन्त्र हुन्छ । दीप प्रज्वलन गर्दा पनि मन्त्र हुन्छ । त्यस्तै गीत गाउने चलन छ । यस्ता गीत सुन्दा पनि उनी आकर्षित हुन्थे । लोक साहित्य र देउडा गीत पनि गाउने उनको समुदायमा चलन छ र त्यसमा पनि आफ्नो असाध्यै रुचि भएको उनी बताउँछन् ।
प्रकाशित कृति
उनीभन्दा अघिको पुस्ताले गोठमा गएर गीत गाउने प्रचलन थियो । उनी पनि गीत गाएको सुन्नमा रुचि भएका कारण पछि–पछि जाने गर्थे । त्यसो गर्दा आफूमा साहित्यप्रतिको लगाव बढेको उनी बताउँछन् तर अहिलेको समयमा पहिले जसरी गोठमा गएर गीत गाउने प्रचलन लोभ भएको छ । २०४९ सालमा रिजालले कवितामार्फत साहित्य क्षेत्रको यात्रा सुरु गरे ।
उनको पहिलो ‘घइटा’ नामको कविताबाट साहित्यिक क्षेत्रको यात्रा सुरु गरे । सुरुमा साहित्यबारे खास ज्ञान नभएकाले पनि होला तत्कालीन समयमा उनी कविता र कथालाई नै साहित्य सम्झिन्थे । २०५९ सालमा बीएस्सी गर्दै गरेका बेला उनले पहिलो कविता संग्रह ‘यात्रा विम्ब’ प्रकाशन गरे । अहिले ती कविताहरूबारे सोच्दा बाल कविता नै लेखे जस्ता महसूस उनी गर्छन् ।
उनी निजामती सेवामा अधिकृतमा नाम निकालेर मुगु गएका थिए । मुगुबाट फर्किएपछि रिजालले ‘संस्मरण’ लेखे । त्यसको १ दशकपछि (६९ सालमा) ‘रूँदै बग्दछ मुगु कर्णाली’ प्रकाशन गरे । त्यसपश्चात् ७८ सालको अन्तिममा ‘हटारू’ प्रकाशन भएको हो । यसरी उनले फरक–फरक विधाका ३ वटा कृतिहरू बजारमा ल्याएका छन् । यिनीहरू नै रिजालका कवितादेखि उपन्याससम्मका साहित्यिक यात्राका फलहरू हुन् ।
द्वन्द्वकालका अनुभव
५० सालको दशकमा दैलेखमा माओवादीको दबदबा थियो । आफ्नै गाउँघरमा जानका लागि माओवादीसँग अनुमति लिनुपर्ने बाध्यता थियो । रिजाल लगायत उनका साथीहरूमाथि पनि पुलिसको निगरानी रहन्थ्यो । यद्यपि गृहजिल्लाका केही संस्थाहरूसँग मिलेर राजतन्त्रविरुद्ध कविता आन्दोलन गरेको उनी बताउँछन् ।
सीआईडीहरूको निगरानी पनि रहेकाले उनीहरूलाई हलचल गर्न धेरै नै गाह्रो हुन्थ्यो । वातावरण त्रासमग्न भएकाले आफ्नो टोलको चोकमा गएर १ जनाले कवितालाई कपीमा कार्बनको सहायताले लेखेर विभिन्न ठाउँहरूमा मान्छे भएको भीडमा फालेर विरोध गरेको उनी बताउँछन् । माओवादीका कार्यकर्ताहरूले गाउँमा प्रवेश गर्नुभन्दा अगाडि सुराकी गरेको हो कि होइन भनेर पनि सोधपुछ गर्थे ।
उनी भन्छन्, ‘बरू त्यो समयमा बाहिरी मुलुक जाँदा सजिलै भिसा आउँथ्यो होला तर मुगु बाहिरको व्यक्तिले मुगुमा पाइला टेक्दा कडा निरीक्षण र सोधपुछ हुन्थ्यो ।’ २०५९ सालतिर दैलेखमा कोही गयो भने पनि आर्मीले छोपेर कुटपिट गर्ने गर्थे । गाउँबाट आएका मान्छेलाई समातेर झूटा आरोप समेत लगाउने गर्थे । बजारबाट गाउँमा जाँदा माओवादीले सुराकी गरेको भनेर यातना दिन्थे ।
विरोध गर्ने क्रममा उनी कहिले जंगल त कहिले बाटाका आलीतिर त कहिले सीडीओ निवासमा बास बस्ने गर्थे । ६२–६३ सालको आन्दोलनकालमा रिजाल लगायतका साथीहरू मिलेर चोकचोकमा हाते माइकको सहायताले कविता वाचन गर्थे । सीडीओ निवासमा बास बस्ने क्रममा राति आर्मीहरू आएर लखेट्ने गरेको पनि उनी सम्झिन्छन् ।
निजामती कर्मचारीलाई फर्केर हेर्दा
निजामती सेवा भनेको जनतालाई सार्वजनिक सेवा प्रवाह गर्ने माध्यम हो । यदि धेरै कुराहरूको महत्त्वाकांक्षा राख्दा यस सेवाबाट सन्तुष्टि नपाइने रिजालको भनाई छ । यस सेवामा आवद्ध भएका अधिकांश कर्मचारीहरूले एकअर्कामा तुलना गर्नु जस्तै सँगै जागिरमा प्रवेश गरेका साथीहरूले यति कमाए वा पदको तुलनामा कोही सहसचिव भए कोही उपसचिव भए जस्ता कुराहरू असन्तुष्टि आएको भनेर उनले बताए ।
यस्ता कुण्ठा पालेर जागिरमा आबद्ध नहुनु उनको राय छ । यो एउटा कमाउने पेशा नभएको तर विशुद्ध जनतासँग प्रत्यक्ष सरोकार राख्न प्रभावकारी सेवा प्रवाह गर्ने सेवा हो । निजामती सेवामा सेवाग्राही, सामाजिक मनोविज्ञान, कर्मचारीप्रतिको दृष्टिकोणबारे जान्न–बुझ्न सकिन्छ । देशका विभिन्न ठाउँमा जाने अवसर मिल्छ । व्यक्तिगत रूपमा निजामती सेवामा उनी अत्यन्त सन्तुष्ट रहेको बताउँछन् । उनी आफू सामान्य परिवारबाट यस स्थानसम्म आएकाले पनि खुशी भएको बताउँछन् ।
उनी भन्छन्, ‘निजामती क्षेत्रमा भनसुन चल्छ भन्ने जुन भ्रम सिर्जना गरिएको छ, त्यो एकदम गलत हो । आजसम्म निजामती क्षेत्रमा कोही मान्छे छ भने त्यसले लोक सेवा पास गरेर आएको छ । यदि यस क्षेत्रमा भनसुन चल्थ्यो भने हामी जस्ता निम्न मध्यम वर्गीय परिवारका मान्छेले निजामती क्षेत्रको सपना नदेख्दा पनि हुन्छ । यो क्षेत्र व्यक्तिको आफ्नो योग्यता र क्षमतामा हुनुपर्छ ।’
अफिसका बाबजुत साहित्यलाई समय
कामको प्रकृति हेरेर साहित्यलाई समय मिलाउने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘काममा हुँदा केही कुरा मनमा लागे समय मिलेको बेला मोबाइलको नोटबूकमा लेख्ने गरेको छु ।’ प्रायः साहित्य राति लेख्ने उनले बताए । हटारु उपन्यास लेख्ने क्रममा उनले राति २ बजेसम्म पनि लेख्ने गरेका थिए तर अफिसको काम छाडेर कविता लेख्न मिल्दैन । अफिसमा कामको बेला केही कुरा मनमा आयो भने पनि काम नछाड्ने उनी बताउँछन् ।
उनी भन्छन्, ‘पछि फेरि मनमा आए लेख्ने हो, नत्र यत्तिकै सेलाउँछ ।’ अलिकति फुर्सद भयो भने उनी आफ्नो मोबाइलको नोट प्याडमा लेख्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘लेखेको कुरा जहाँ फिट हुन्छ, त्यही सार्ने गर्छु ।’
साहित्यले निजामती यात्रामा पुर्याएको सहयोग
निजामती सेवाको जाँच दिँदा शब्द चयन, वाक्य कथनमा सहज हुन्छ सोची राख्नु पर्दैन । वाक्य टुंग्याउन धेरै सजिलो हुन्छ । धेरै लेखी रहने बानी भएकाले पनि परीक्षा दिन त्यस्तो गाह्रो नभएको उनी स्मरण गर्छन् । कविता, कथा, उपन्यास लेखिराख्ने बानीले निजामती सेवाको परीक्षा दिँदा सहज भएको छ ।
साहित्यबीच कर्मचारीतन्त्रप्रतिको बुझाइ
कर्मचारीतन्त्र भनेको राज्यलाई जनतासँग जोड्ने माध्यम हो । नागरिकका आवाजलाई नीति निर्माण तहसम्म पु¥याउने र बनेका नीतिलाई कार्यान्वयन गरेर नागरिकहरूलाई सेवा दिने काम कर्मचारीतन्त्रले गर्छ । हामी कहाँ कर्मचारीतन्त्रका केही विकृति समेत रहेको उनी बताउँछन् । माथिकालाई रिझाउने तलकालाई सताउने सँगैकालाइ बझाउने र आफ्नो दुनो सोझ्याउने चलन रहेको उनको बुझाइ छ । कर्मचारीहरूमा सेवा केन्द्रित भावभन्दा आत्मकेन्द्रित प्रवृत्ति बढ्दो पाइन्छ । त्यसलाई न्यूनीकरण गर्न जरुरी छ ।