झापा । दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर २ युवा किसानले ८६ लाखको आलु फलाएका छन् ।
मेचीनगर वडा नम्बर १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष १०८ बिघा जग्गा लिजमा लिएर नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गरेका थिए ।
फार्मको ११ बिघा जग्गामा पहिलो बालीको रूपमा आलु उत्पादन भएको छ ।
आधुनिक प्रविधिबाट ४५ लाख लगानीमा आलु खेती गरेको सञ्चालक खनालले जानकारी दिए । उनका अनुसार हाल १ कट्ठा जमिनमा लगभग ११ क्विन्टलका दरले आलु उत्पादन भएको छ । आलु खन्ने, रोप्ने, गोड्ने र सिँचाइका लागि ४५ जना श्रमिकले दैनिक रोजगारी पाइरहेका छन् ।
फार्ममा उत्पादित पहिलो यामको सेतो आलु खन्ने र बिक्री गर्ने काम धमाधम भइरहेको छ । ११ बिघामा २ हजार ३३२ क्विन्टल आलु फलेको र बिर्तामोड लगायत झापाका विभिन्न बजारबाट खेतमै आउने व्यापारीले प्रतिक्विन्टल ३ हजार ७०० रुपैयाँका दरले आलु किनेर लैजाने गरेको खनालले जानकारी दिए ।
आलु व्यापारीले फार्मबाट प्रतिकेजी ३७ रुपैयाँका दरले लैजाने गरेको आलु हाल खुद्रा बजारमा प्रतिकेजी ५० देखि ६० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । रासायनिक तथा कीटनाशक विषादीको प्रयोग नगरी अग्र्यानिक प्रविधिबाट खेती गरिएको हुँदा आलुले राम्रो बजार पाएको सञ्चालकको भनाइ छ ।
गत वर्ष भारतको मणिपुरबाट आएर झापामा जग्गा किनेका एक प्रवासी नेपालीसँग लीला खनालको भेट भएको थियो । ती प्रवासी नेपालीले आफूले मणिपुरमा आलु फलाएर बेचेको पैसाले जग्गा किनेको खनाललाई बताएका थिए । आलु बेचेर जग्गा जोड्ने कुराले आलु खेती गर्ने प्रेरणा मिलेको खनालले बताए । त्यसपछि आलु खेतीको सम्भाव्यताबारे मणिपुर, आसाम र पञ्जाबसम्म पुगेर खनालले अध्ययन अवलोकन गरेका थिए ।
खनाल ५ वर्ष कोरियामा वैदेशिक रोजगारीमा गएका थिए । विदेशबाट फर्केपछि उनी परम्परागत कृषि कर्मसँगै घडेरी व्यवसायमा लागेका थिए । अब पूर्णकालीन कृषि व्यवसायमा लाग्ने उनको सोच छ ।
आलुले राम्रो उत्पादनसँगै नाफा दिएपछि फार्मका अर्का सञ्चालक हरि नेपाल उत्साहित छन् । ‘पहिलोपटक लगाएको आलुमै सोचेभन्दा राम्रो आम्दानी भयो,’ उनले भने, ‘आउँदो साल अहिलेको तुलनामा दोब्बर जग्गामा आलु खेती गर्ने सोच बनाएका छौं । अरु बाली पनि आशलाग्दो रूपमा फष्टाइरहेको छ ।’