भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार धेरै चल्ने र टिक्नवाला नभएको बताएका छन् ।
भोजपुरमा भएको कार्यक्रममा बोल्दै उनले गठबन्धन सरकार कथंकदाचित अगाडि बढे देशलाई दुर्भाग्य हुने बताए ।
उनले भने, ‘यो कुहिएको फल जस्तो भएको छ, यसलाई झारेन भने पनि आफैं झर्छ ।’ यो सरकार कुनै हालतमा पनि अगाडि बढ्न सक्ने अवस्थामा नरहेको ओलीले बताए । उनले वर्तमान सरकारबाट केही नहुने बताए ।
एमालेलाई सिध्याउँछु, मार्छु भन्ने सपना भंग गर्न समेत उनले आग्रह गरे । अध्यक्ष ओलीले गठबन्धन सरकारमा रहेका दलहरू कसरी एमालेलाई कमजोर बनाउने भनेर लागेका बताए ।
अध्यक्ष ओलीले एमालेसँग एक्लै लड्ने त के, हेर्न पनि नसक्ने अवस्थामा अन्य दलहरू रहेको बताए । उनले एमालेसँग एक्लै कोही लड्न नसक्ने भएकाले कसैले दाइने हात, कसैले देब्रे हात, कसैले जिउ समात्ने, कोही कम्मरमा समाएर पछार्न खोजेको बताए ।
उनले भने, ‘एमालेलाई सिध्याउँछु भनेर हातको छेउमा आए मुक्का खाने, खुट्टाको छेउमा आए कच्याककुचुक हुन्छन् । एमालेले त्यो स्ट्रेन्थ बनाउनुपर्छ ।’
मिसन ८४ मा एमालेले बहुमत नल्याए देशको अस्तित्व नै संकटमा पर्ने उनले बताए । उनले भने, ‘एमालेले बहुमत नल्याए देश धेरै अप्ठ्यारो अवस्थामा जानेछ ।’
गठबन्धन दलहरूबाट देशमा केही हुनेवाला नभएको उनले बताए ।