काठमाडौं । मंसिर १८ गतेदेखि सुरु मिथुन उल्का वर्षाको आज राति अत्यधिक सक्रियता रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।
अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । योे उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स–साना धूलोका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करीब ७० किलोमिटर माथि जलेर देखिँदैछ ।
उल्का वर्षाको समयमा उल्काहरू मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा (जेमिनिड मेट्योर शावर) नामकरण गरिएको उनले बताए ।
उल्का वर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदूषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्वीर खिच्न सक्नेछन् । अवलोकनको लागि आज राति ८ः०० बजेदेखि शुक्रबार बिहान ५ः३० सम्मको समय अनुकूल हुने सोसाइटीले जनाएको छ ।
उल्का वर्षा सामान्यतया मध्यरातपछि हेर्दा उत्तम देखिन्छ । मौसमले साथ दिएमा उल्का वर्षा हेर्नेका लागि सन् २०२३ कै उत्कृष्ट समय हुनेछ । उल्का वर्षा हेर्न कुनै दुरबिन वा टेलिस्कोपको आवश्यकता पर्दैन ।
सोसाइटीले विज्ञप्तिमार्फत् देशभर छरिएर रहेका सदस्य तथा शुभचिन्तकलाई आ–आफ्ना स्थानमा रहेका नजिकैका खुला स्थानबाट हेर्न र तस्वीर लिन आग्रह गरेको छ । सबै अवलोकनकर्तालाई आफ्ना तस्वीर सोसाइटीको कार्यालयमा पठाउन पनि अध्यक्ष भट्टराईले आह्वान गरेका छन् ।
प्राप्त तस्वीरलाई सोसाइटीले सामाजिक सञ्जालामार्फत् सार्वजनिक गर्ने पनि सोसाइटीको विज्ञप्तिमा उल्लेख छ । उल्का वर्षा सम्बन्धी थप जानकारीका लागि सोसाइटीको कार्यालयमा सम्पर्क गर्न सकिने पनि जनाइएको छ । हाल जारी उल्का वर्षा पुस १ गतेसम्म सक्रिय रहने उनले सुनाए ।