महोत्तरी । बहुप्रतिक्षित सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले प्रतिनिधिसभामा महोत्तरी १ बाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ ।
न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले आज बिहीबार सांसद कोइरीलाई सफाइ दिएको हो ।
मुद्दामा मधेश प्रदेश सभामा महोत्तरी ३(१) बाट निर्वाचित प्रदेशसभा सदस्य अभिराम शर्मालाई भने अदालतले जन्मकैदको फैसला गरेको छ । यसअघि २०७४ सालमा पनि शर्मा मधेश प्रदेश सभामा थिए ।
मुद्दाका २८ प्रतिवादीमध्ये सांसद महतोसँगै पवन ठाकुरलाई पनि सफाइ दिइएको छ । जन्मकैदको फैसला प्रदेशसभा सदस्य शर्मासहित अन्य ६ जना छन् ।
हाल एमालेबाट निर्वाचित र घटनाका बखत तत्कालीन राजपाका नेता प्रतिनिधिसभा सदस्य कोइरीसहित २८ जनाविरुद्ध कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगो लगाएको कसूरमा २०७२ साल फागुन २७ गते महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
सशस्त्र प्रहरीका असई विकको हत्या प्रकरणमा प्रदीप साह, सञ्जयकुमार साह र पवन कापर पुर्पक्ष थुनामा छन् । जिल्ला अदालतले मुद्दाको प्रारम्भिक सुनवाइका क्रममा अहिलेका सांसद कोइरी, प्रदेशसभा सदस्य शर्मा र तत्कालीन नगर प्रमुख मिश्र सहितका नेतालाई धरौटीमा छाडेको थियो ।
विक्रम संवत् २०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई तत्कालीन आन्दोलनकारी मधेशी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।