काठमाडौं । जलवायु परिवर्तनसँग सम्बन्धित विपद्को असरबाट सबैभन्दा बढी बालबालिका जोखिममा पर्ने गरेका छन् ।
महामारी, हिमपात, शीतलहर, बाढी तथा पहिरो, हावाहुरी, आगलागीलगायत प्राकृतिक विपद्बाट आर्थिक वर्ष २०७९÷८० मा मुलुकभर पीडित बालबालिकाको सङ्ख्या तीन हजार दुई सय ४४ पुगेको छ । जसमा सबैभन्दा बढी दुई हजार दुई सय ३१ बालबालिका महामारीका कारण पीडित भएका थिए ।
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्अनुसार आव २०७९÷८० मा विपद्का कारण पीडित बालबालिकामध्ये ७९ बालक र छ सय ८८ बालिका गरी जम्मा कुल सात सय ६७ बालबालिकाको मृत्यु भएको थियो ।
त्यस्तै एक सय ६७ बालक र दुई हजार एक सय ७६ बालिका गरी जम्मा दुई हजार तीन सय ४३ बालबालिका घाइते भएका थिए भने चार बालक र एक सय ३० बालिका गरी जम्मा एक सय ३४ बालबालिका बेपत्ता भएका थिए । कुल पीडित बालबालिकामध्ये ९२ दशमलव २९ प्रतिशत बालिका रहेका छन् ।
नेपालमा जोखिम न्यूनीकरणका लागि तीनै तहबाट विभिन्न कार्यक्रम सञ्चालनमा रहे पनि बढ्दो जलवायु परिवर्तनको असरले प्राकृतिक विपद्को असर बढ्दोरूपमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय बालअधिकार समितिले सन् २०२३ अगष्ट २२ मा जलवायु परिवर्तनले पारेको असरबाट बालअधिकार संरक्षण तथा प्रवर्द्धनका लागि राज्यले गर्नुपर्ने विषयमा सामान्य टिप्पणी–२६ (जनरल कमेन्ट–२६) जारी गरेको छ । जसमा जलवायु परिवर्तनबाट हुने प्रतिकूल असर न्यूनीकरण गर्नुपर्ने, बालबालिकालाई यससम्बन्धी असरसँग अनुकूलन बनाउने, बालअधिकारमा परेको क्षतिका लागि प्राविधिक तथा आर्थिक सहयोग गर्नेलगायत विषय रहेको छ ।