चितवन । १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आगामी पुस १० गतेदेखि हुने भएको छ ।
क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा महोत्सव हुन लागेको हो ।
कोभिड महामारीका कारण स्थगन गरिएको हात्ती महोत्सव ४ वर्षपछि गर्न लागिएको मेला संयोजक ओमप्रकाश पाण्डेले जानकारी दिए । कोभिड–१९ का कारण थलिएको पर्यटन व्यवसायलाई अझै माथि उठाउन महोत्सव आयोजना गरिएको आज आयोजना गरिएको पत्रकार सम्मेलनमा गरी पाण्डेले बताए ।
हात्ती विना समग्र चितवनको पर्यटन कल्पना गर्न नसकिने बताउँदै उनले पर्या–पर्यटन सम्बन्धी गतिविधि र स्थानीय उत्पादनलाई बजारीकरण गरी राष्ट्रियस्तरमा पहिचान गराउन महोत्सव फलदायी हुने उनले बताए ।
महोत्सवमा हात्तीको शृंगार प्रतियोगिता, हात्ती वनभोज, मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । चितवनमा पर्यटनको सम्भावना र चुनौती सम्बन्धी अन्तर्क्रिया, स्थानीय वेषभूषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन, हात्तीको दिनचर्याबारे जानकारी, स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा अग्रज, उत्कृष्ठ पथप्रदर्शक, सुरक्षाकर्मी, माउते, डुंगा चालक, जीप सफारी चालक लगायतलाई सम्मान गरिनेछ । सन् २०१८ पछि हात्ती महोत्सव अहिले हुन लागेको हो । महोत्सवको दैनिक ५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारी महोत्सव गर्न लागिएको हो । महोत्सवमा ५० वटा बिक्रीकक्ष रहने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले जानकारी दिए । उनका अनुसार पहिला गरिँदै आएको छावाको फूटबल, पोलो, हात्ती दौडजस्ता गतिविधिले हात्तीलाई दुःख हुने गरेको गुनासो बढेपछि यसवर्ष त्यस्ता गतिविधि नगरिने भएको छ ।
यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती महोत्सव हुँदै आएकोमा यसपटक मैनाहा चौरमा हुने उनले बताए ।