दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाको शिक्षा सुधार कोषमा २० लाख रुपैयाँ बढी संकलन भएको छ ।
गाउँपालिकाले शिक्षा सुधारका लागि सुरु गरेको शिक्षा सुधार कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिबाट रकम संकलन भएको हो ।
गाउँपालिकाभित्र सञ्चालित उद्योग, विभिन्न सहकारी, टोल सुधार समिति, संघसंस्थाले पालिकाको अभियानमा हातेमालो गर्दै सहयोग गरेका हुन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाको आह्वान अनुसार सहयोग जुट्ने क्रम जारी छ ।
कोषमा एकैदिन साढे ६ लाख सहयोग प्राप्त भएको छ । गाउँपालिकामा रहेका विभिन्न उद्योगले शिक्षा सुधार कोषमा ६ लाख ५० हजार सहयोग गरेका हुन् । आँबुखैरेनी गाउँपालिका–२ स्थित अभनिष डिष्टिलरी प्रालिले ३ लाख, सूर्य ब्लेन्डर्स प्रालिले १ लाख, मकालु डिष्टिलरी प्रालिले १ लाख ५० हजार र तिरुमाला प्लास्टिक इण्डस्ट्रिजले १ लाख सहयोग गरेको छ ।
गाउँपालिकाले सुरु गरेको शैक्षिक सुधार कार्यक्रमलाई थप टेवा पुर्याउने उद्देश्यसहित शैक्षिक क्षेत्रमा गरेको सहयोगप्रति गाउँपालिकाका अध्यक्ष चुमानले धन्यवाद ज्ञापन गरेका छन् । अध्यक्ष चुमानले भने, ‘हामी गाउँपालिकाका सबै वडामा रहेका सामुदायिक विद्यालय सुधार्न योजनासहित अगाडि बढेका छौं । त्यसका लागि हातेमालो गरेर यहाँका संघसंस्थाले सामाजिक उत्तरदायित्व वहन गरेको छ ।’
गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार योजनाको सुरुआत गरेको छ । गाउँपालिकाले रूप फेर्ने, सिकाइ गुणस्तर, अनुगमन र प्रोत्साहन गरी ४ वटा विषयलाई प्राथमिकता दिएको अध्यक्ष चुमानले जानकारी दिए ।
चुमानले भने, ‘हामी निर्वाचित भएर आएदेखि नै शिक्षाको गुणस्तर वृद्धिका लागि के गर्न सक्छौं भनेर कार्ययोजना बनाएर लागेका छौं । शिक्षाको गुणस्तर सुधारका लागि यसलाई मुख्य प्राथमिकता दिएका छौं ।’
रूप फेर्ने योजनाअन्तर्गत बाल विकासदेखि ५ कक्षासम्मका सबै छात्रछात्रालाई निःशुल्क ट्रयाकसुट, झोला, जुत्ता मोजा तथा टिसर्ट वितरण गरिएको छ । गाउँपालिकाले आँबुखैरेनी गाउँपालिका–४ भाँगेस्थित छिम्केश्वरी मावि र मस्र्याङ्दी आधारभूत विद्यालयमा पुराना डेस्क बेन्च हटाएर नयाँ व्यवस्था गरेको छ ।