जनकपुरधाम । प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालको सामाजिक, सांस्कृतिक र जैविक विविधताका साथै विविध सांस्कृतिक चेतनालाई संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्ने बताएका छन् ।
जनकपुरधाममा आज आयोजित पाँचौं अन्तर्राष्ट्रिय साहित्य उत्सवको समुद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले भाषा, साहित्य र कलाको संरक्षणले मात्रै देश समृद्ध हुने बताए ।
नेपाल र भारतले एकअर्काको फरक सभ्यता, इतिहास, सांस्कृतिक चेतना र विविधतालाई बुझ्न हिन्दी भाषा र साहित्यले सहज बनाएको भन्दै प्रथम राष्ट्रपति यादवले साहित्य उत्सवले त्यसका विविध आयामबारे वृहत छलफल गरी विकासका लागि रणनीति तय गर्ने विश्वास व्यक्त गरे ।
वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले नेपाल र भारतलाई राजनीतिक सीमाले विभाजन गरे पनि हिन्दी भाषा, साहित्य र संस्कृतिले २ देशको भावनालाई जोड्ने काम गरेको भन्दै यो विशिष्ट सम्बन्धलाई कायम राख्न सबैले सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।
भारतीय साहित्यकार प्राध्यापक प्रणव चट्टोपाध्याय, डा. रामचन्द्र रायले हिन्दी भाषा र समान सांस्कृतिक सभ्यताका कारण नेपाल—भारतबीच रोटिबेटीको सम्बन्ध रहेको धारणा राखे । उनीहरूले नेपाल–भारतबीचको त्यो सम्बन्ध र नेपालमा हिन्दी भाषाको दशा र दिशाबारे चर्चा गरिनुपर्ने धारणा राखे ।
सांसद रेखा यादवले हिन्दीलाई नेपालमा सम्पर्क भाषाका रूपमा मान्यता दिनुपर्ने र त्यसका लागि लागि आफूले पनि संसद्मा आवाज उठाइरहेको बताइन् । महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत श्रीदेवी साहाय मिनाले नेपाल–भारत भाषा र सांस्कृतिक रूपमा अविछिन्न रहेको भन्दै त्यसलाई मजबुत बनाउने दायित्व दुबै देशका सरोकारवालाको रहेको बताइन् ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधाम अध्यक्ष राघबेन्द्र साह लगायतले नेपाल–भारत सम्बन्धमा हिन्दी भाषाको महत्त्वका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।