बाढीमा बेपत्ता एकजनाको शव १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता

बाढीमा बेपत्ता एकजनाको शव १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता

किमाथांका । सङ्खुवासभाको हेवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ । 

टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए । 

चैनपुर नगरपालिका-११, दुम्कट्टामा बिहीबार साँझ शव फेला परेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

फेला परेको शव खाँदबारी जिल्ला अस्पतालमा शवपरीक्षणका लागि ल्याइएको उनले बताए ।

फेला परेको शव पाँचखपन नगरपालिका-७ का ३३ वर्षीय भुवनसिं तामाङकी श्रीमतीले आफन्तको भएको जिकिर गरे पनि पुष्टि हुन सकेको छैन । 

बाढी पहिरामा परेका अन्य १९ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढी पहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन् । 

बाढी पहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् ।