काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कुकुरले टोकेका बिरामीको संख्या बढिरहेको छ ।
कुकुरले टोकेपछि खोप लगाउनेको संख्या बढिरहेको अस्पतालले जनाएको छ ।
विगत २ वर्षको तथ्यांकमा कुकुरले टोकेर रेबिज विरुद्धको खोप लगाउने आउने संख्यामा वृद्धि भएको छ ।
अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा कुकुरले टोकेपछि खोप लगाउन आउने नयाँ बिरामी ३८ हजार ७४८ रहेका थिए भने आव २०७९/८० मा यो संख्या बढेर ५० हजार ४९४ पुगेको छ ।
आव २०७८/७९ मा नयाँ र पुरानो गरी १ लाख १ हजार १९६ र आव २०७९/८० मा नयाँ र पुरानो गरी १ लाख २५ हजार ९० बिरामीले रेबिज विरुद्धको खोप लगाएका छन् ।
कुकुरले जाडोमा भन्दा गर्मी महिनामा बढीलाई टोक्ने भएकाले गर्मीमा धेरै बिरामी खोप लगाउन आउने गरेका छन् । आव २०७९/८० को जेठमा ५ हजार ५८ जना र असारमा ५ हजार २८० जना खोप लगाउन आएका छन् ।
पुसमा ३ हजार ८५१ र माघमा ४ हजार १३२ जनाले रेबिज विरुद्धको खोप लगाएका छन् ।
कुकुरले टोकेपछि २ किसिमको खोप दिइने गरिन्छ । एउटा एन्टिरेविज र अर्को इम्युनोग्लोबुलिन भ्याक्सिन दिने गरिन्छ । यदि भुस्याहा कुकुरले टोकेको खण्डमा इम्युन्नोग्लोविन खोप र घरपालुवा कुकुर जसले नियमित खोप लगाएका छन् । ती कुकुरले टोके भने एन्टिरेबिज भ्याक्सिन खोप दिइने गरिन्छ । घरपालुवा र भुस्याहा कुकुरले बढी मानिसलाई टोक्ने गरेको छ । गत असारदेखि यता मात्र १९ हजार ४४७ जना नयाँ बिरामीले रेबिजविरुद्ध खोप लगाइसकेका अस्पतालका बहिरङ्ग विभागका इन्चार्ज शंकर पाण्डेले जानकारी दिए ।
उनका अनुसार साउनमा ४ हजार ८८५, भदौमा ४ हजार ७२८, असोजमा ४ हजार ७३१ र कात्तिकमा ५ हजार ९९ जनाले बिरामीले रेबिज विरुद्धको खोप लगाएका छन् । उनका अनुसार अहिले दैनिक १३० जना रेबिज विरुद्धको खोप लगाउन अस्पताल आउने गरेका छन् ।
मासु र छालामा लगाइने खोप सरकारले निःशुल्क वितरण गर्ने गरेको छ । मासुमा लगाउने खोप ४ पटक र छालामा लगाउने खोप ३ पटक दिइने गरिन्छ । बच्चा र वृद्धालाई मासुमा खोप लगाइने गरिन्छ । विश्व स्वास्थ्य संगठनले छालामा लगाइने खोपलाई बढी प्रभावकारी मानेको छ ।
कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप नलगाएको खण्डमा रेबिज रोग लाग्ने गर्दछ । अस्पतालका प्रमुख कल्सन्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले कुकुरले टोकेपछि जतिसक्दो चाँडै खोप लगाउनुपर्ने बताए । उनले खोप नलगाएको खण्डमा २०–९० दिनसम्म रेबिज रोगको लक्षण देखिने र लक्षण देखिएको ७ दिनभित्रमा बिरामीको मृत्यु हुने गरेको बताए ।
चालिसेका अनुसार रेबिज रोग लागेका बिरामीको मृत्युदर शतप्रतिशत रहेको छ । अस्पतालमा महिनामा २–३ जना बिरामी रेबिज लागेर आउने गरेको उनी बताउँछन् । रेबिज रोग लागेका मान्छे सुरुमा पानी र हावासँग डराउने र त्यसपछि अचेत अवस्था भई मृत्यु हुने गरेको उनले बताए ।
रेबिजबाट संक्रमित भएको कुकुर, जंगली जनावरजस्तै स्याल, फ्याउरोले टोकेमा, चिथोरेमा तिनीहरूको र्यालबाट रेबिज रोग सर्दछ । रेबिज भाइरसले मस्तिष्कमा असर पुर्याउँछ र लक्षण देखिएपछि रेबिज घातक हुन्छ ।
कुकुरले टोकेमा टोकेको घाउमा १५ मिनेटसम्म साबुनपानीले सफा गर्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने गर्नुपर्छ ।