पाँचथर जिल्ला नेपालको संघीय संरचनाअनुसार कोशी प्रदेशमा अवस्थित पहाडी जिल्ला हो । विकट तर मनोरम धरातलीय बनोट, उच्च भूभाग र यहाँ पाइने बहुमूल्य जडीबुटीहरू जस्तैः पोट्लिङ्गो, गुराँस, धुपी, चिराइतो जस्ता वनस्पति आदिले जिल्लाको पर्यटकीय आकर्षण पनि उत्तिकै बढी छ ।
जिल्लाको नामकरण कसरी भयो भन्ने कुनै स्पष्ट आधार नदेखिए तापनि शोधकर्ताहरूका आधारमा पाँचथर ‘पान्थरथुम’ शब्दबाट नामकरण भएको भन्ने भनाइ छ । पान्थरथुम शब्द पान्थरू र थुम मिलेर बनेको शब्द हो । पान्थरूको अर्थ कुरामा सहमति मिलेको र थुमको अर्थ इलाका वा किल्ला हो । किराँत इतिहासका पुराना साहित्यहरूमा इस्वी संवत ५५० ताकाको ऐतिहासिक वर्णनमा नै ‘पान्थर’ शब्द प्रयोग भएको पाइन्छ । यो जिल्ला विभिन्न किसिमका धर्म र संस्कृति मान्ने जातजाति र भाषाभाषीको संगमस्थल पनि हो । हाल जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) मेख बहादुर मंग्राती छन् ।
बाल्यकाल र विद्यार्थी जीवन
२०४३ सालमा जन्मिएका मंग्रातीको बाल्यकाल सिन्धुलीको कमलामाईका पाखा–पखेरामा हिँड्दै खेल्दै सामान्य किसान परिवारमा बित्यो । सानैदेखि असल मंग्रातीले नेपालको विभिन्न स्थानमा काम गरिसकेका छन् । उनले गाउँकै जनज्योति माध्यमिक विद्यालयबाट २०६० सालमा एसएलसी उत्तीर्ण गरे । विद्यालय नजिकै भएकाले स्कूले जीवन कठिन नभएको उनी बताउँछन् ।
उनले जनज्योतिबाटै आईए पास गरे । उनले स्नातक सिंहदेवी बहुमुखी क्याम्पसबाट उत्तीर्ण गरेका हुन् ।
निजामती सेवाको यात्रा
क्याम्पस पढ्ने क्रममा उनको भेट गाविस सचिवसँग कक्षा कोठामा भएको थियो । गाविस सचिव पनि सोही क्याम्पसमा पढ्ने भएकाले आफूलाई पनि लोक सेवाको बारेमा बताएको उनी स्मरण गर्छन् । लोक सेवा भनेको यस्तो हो, यसरी पढ्नुपर्छ भनेर उनले सिकाएका थिए । उनका अनुसार गाविस सचिव भइसकेको मान्छेले भनेको कुरा राम्रो हुने ठानेर उनले पनि लोक सेवाको तयारी गर्न थाले । उनले २०६६ सालमा खरिदारबाट निजामती सेवामा प्रवेश गरे । २०६६ सालमा खरिदार हुँदा उनको पहिलो पोस्टिङ सोलुमा गाविस सचिवको रूपमा भएको थियो । उनले सोही सालमा नायब सुब्बामा नाम निकाल्न सफल भए । नासुमा नाम निकालेपछि उनको दरबन्दी पुरातत्त्व विभाग काठमाडौंमा भएको थियो ।
उनी धेरै समय नासुमा मात्र सीमित हुन चाहँदैन्थे । त्यसैले उनले २०६७ सालमा शाखा अधिकृतमा नाम निकाल्न सफल भए । उनको अधिकृतको रूपमा पहिलो पोस्टिङ ईलाका कार्यालय गौशला महोत्तरीमा भएको थियो । त्यहाँ डेढ महिना बस्न नपाउँदै उनको सरुवा भोजपुर जिल्ला प्रशासनमा सहायक सीडीओको रूपमा भयो । भोजपुरमा करीब ३ वर्ष काम गरेपछि उनको सरुवा जिल्ला प्रशासन कार्यालय मोरङमा भयो । उनले त्यहाँ पनि २ वर्ष काम गर्ने अवसर पाए ।
त्यसपछि उनले डडेलधुराको अमरगढी नगरपालिकामा ८ महिना काम गरे । फेरि उनी तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उनको सरुवा भयो । मन्त्रालयमा १ वर्ष काम गरेपछि उनी ललितपुरको महालक्ष्मी नगरपालिकामा सरुवा भए । उनले महालक्ष्मी नगरपालिकापछि राष्ट्रिय दलित आयोगमा २ वर्ष काम गरे । राष्ट्रिय दलित आयोगमा रहँदै २०७८ सालमा उनले सहसचिवमा नाम निकालेका हुन् । त्यसपछि उनले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रदेश सचिवको रूपमा काम गरेपछि हाल पाँचथरको प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएर कार्यसम्पादन गर्दै आएका छन् ।
कर्मचारीतन्त्रप्रतिको बुझाइ
कर्मचारीतन्त्र भनेको एउटा राज्य सञ्चालन गर्ने स्थायी संरचना हो । राज्यले जनतालाई प्रदान गर्ने सेवा वितरण गर्न कर्मचारीतन्त्रले मद्दत गर्छ । जनता र राज्यलाई जोड्ने पुलका रूपमा पनि कर्मचारीतन्त्र बुझ्न सकिन्छ । जनतालाई सेवा प्रदान गर्नु नै कर्मचारीतन्त्रको प्रमुख काम हो । कर्मचारीतन्त्रले नियमितता र अनुशासनमा रहेर काम गर्न सिकाउने गर्छ । यो संयन्त्र भनेको राज्यका विभिन्न अंगले बनाएका नीति–नियमको कार्यान्वयन गर्ने संयन्त्र पनि हो । अहिलेको समयमा केही समस्या पनि देखिएका छन् तर कर्मचारीतन्त्रको विकल्प अरू केही हुन सक्दैन । यसमा देखिएका कमी–कमजोरी सुधार्ने कोसिस गर्न जरुरी छ ।
आर्थिक चुनौती वा सहजता
कुनै पनि देशमा कर्मचारीको तलब–सुविधा देशको अर्थतन्त्रमा भर पर्छ । सरकारले दिएको तलब–सुविधा अरू देशको तुलनामा कम नै छ तर देशको अर्थतन्त्र यति कमजोर भएकाले पनि यसमा कर्मचारी सन्तुष्ट हुन बाध्य छन् । अहिलेको महंगो समाजमा घरपरिवार पाल्न १ जनाको कमाइले अवश्य नै पुग्दैन तर सामान्य जीवनयापन गर्न भने सरकारको तलब सुविधाले पुग्छ, भोकै हिँड्नु पर्दैन ।
निजामतीमा आउन चाहनेलाई सुझाव
मेहनत गर्ने बानी र आत्मविश्वास भएमा सजिलै निजामती क्षेत्रमा छिर्न सकिन्छ । अहिलेको प्रविधि बुझेका मान्छेले निजामतीमा बेग्लै रूपको सेवा प्रदान गर्न सक्छन् । पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको सीपले प्रक्रियामुखी कामलाई सरल बनाउन सकिन्छ । सेवा प्रवाहको गुणस्तर, सामाजिक आर्थिक तथा भौतिक पूर्वाधार विकासको गति, परिवर्तन र सुधारप्रतिको रूपमा लिई निजामती सेवामा प्रवेश गर्नुपर्छ । जनताको सेवामा आफ्नो जीवन व्यतीत गर्न सक्छु भन्ने मनोबल हुने हो भने निजामती क्षेत्रमा रम्न सकिन्छ ।