काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न प्रदान गरेको छ ।
आज आयोगले विज्ञप्ति जारी गर्दै दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न र चिह्नको क्रम निर्धारण गरेको जनाएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने राष्ट्रिय सभा चुनावका लागि दल दर्ता गरेको छैन । निर्वाचन आयोगले आज शुक्रबारसम्मका लागि दल दर्ताको समय तोकेको थियो ।
राष्ट्रिय सभा चुनावमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन् । फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि एक महिना अगावै माघ ११ गते चुनाव हुँदै छ ।
फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४ माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र राष्ट्रपतिद्वारा मनोनित दुई जना छन् ।
हेर्नुहोस् विज्ञप्ति