भ्रष्टाचारी ठहर भए आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का

भ्रष्टाचारी ठहर भए आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का

काठमाडौं । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचारी ठहर भएका छन् । 

विशेष अदालत काठमाडौँले शुक्रबार खड्कालाई भ्रष्टाचार गरेको ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारुको इजलासले खड्कालाई दोषी ठहर गर्दै  ९ करोड १९ लाख रुपैयाँ जरिवाना र एक वर्ष तीन महिना कैद सजायको फैसला सुनाएको छ ।

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुसमा १८ करोडभन्दा बढी अवैध आम्दानी गरेको दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

आयोगले खड्का र उनको परिवारले हालसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा १८ करोड भन्दा बढी स्रोत नभएको सम्पत्ति फेला पारेको अभियोग पत्रमा उल्लेख गरेको थियाे । 

खड्काले परिवारका सदस्यबाहेक अमिता लामा सोदेम्बाको नाममा सात करोड ५४ लाख ५७ हजार आठ ७५ रुपैयाँ लुकाइ राखेको तथ्य आयोगले विशेषमा पेश गरेको थियो ।

खड्काले विभिन्न बैंक,  वित्तीय संस्था तथा सहकारीमा नगद मात्र दुई करोड, ७१ लाख ५३ हजार चार सय २१ राखेको पाइएको थियो ।